ललितपुर - ललितपुर – मङ्गलबार राति सुरक्षा खतराको कारण अष्ट्रेलियाका प्रधानमन्त्रीलाई निवास बाहिर निकालिएको थियो । तीन घण्टापछि उहाँ क्यानबेरास्थित आधिकारिक निवास ‘द लज’ मा फर्किनुभएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई ‘कथित सुरक्षा घटना’ पछि सुरक्षाका लागि अस्थायी रूपमा सारिएको जनाइएको छ ।
अष्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) ले साँझ ६ बजे घटनाको सम्बन्धमा प्रतिक्रिया दिएको पुष्टि गर्दै प्रधानमन्त्री निवासमा गहन खोजी गरिएको तर कुनै शङ्कास्पद वस्तु फेला नपरेको जनाएको छ ।
प्रहरीद्वारा जारी विज्ञप्तिमा ‘समुदाय वा सार्वजनिक सुरक्षामा कुनै खतरा नरहेको’ उल्लेख गरिएको छ ।
अष्ट्रेलियामा पछिल्ला महिनाहरूमा प्रधानमन्त्री र अन्य सङ्घीय राजनीतिज्ञहरूको सुरक्षामा खतरा बढ्दो क्रममा रहेको बताइएको छ । गत अक्टोबरमा एएफपी आयुक्त क्रिसी ब्यारेटले राजनीतिज्ञहरूलाई लक्षित खतराको सामना गर्न नयाँ राष्ट्रिय सुरक्षा अनुसन्धान टोली गठन गरिएको घोषणा गर्नुभएको थियो ।
उहाँले यसै महिनाको सुरुमा सिनेटमा दिएको उद्घाटन वक्तव्यमा घृणा र हिंसा राजनीतिज्ञ, पदाधिकारी तथा अष्ट्रेलियाको यहूदी समुदायप्रति निर्देशित भएको बताउनुभएको थियो । टोली गठन भएदेखि हालसम्म २१ जनाविरुद्ध अभियोग दर्ता गरिएको जनाइएको छ ।

बिजनेस पाटी