ललितपुर - ललितपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुर जिल्लाका सबै सीमा नाका बन्द गरिने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीवार राति १२ बजेसम्म भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने भएका छन् ।
त्यस्तै, फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म एम्बुलेन्स, ट्राफिक, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा तथा कूटनीतिक नियोगका सवारीसाधन (नम्बर प्लेटमा ‘CD’ उल्लेख भएका) र अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाइएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।

बिजनेस पाटी