शिव–शक्ति मिलनको प्रतीकसहित भक्तपुरमा होली पर्व सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
612 views

ललितपुर - ललितपुर – दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरमा मङ्गलबार साँझ भीमसेनको लिङ्ग झुण्ड्याएर प्रदर्शनीमा राख्दै चिर स्वायगू (चिरोथान) होली पर्व सुरु गरिएको छ ।

फागुण शुक्ल अष्टमीको दिन साँझ, नेपाल भाषामा ‘लज्ज’ भनिने भीमसेनको लिङ्गको प्रतीकका रूपमा काठबाट बनेको करिब तीन हात लामो र ३० इञ्च गोलाइ भएको लिङ्गलाई कमलपोखरीमा पखालेर सफा गरी ल्याउने र पूर्णिमाको साँझ ब्रह्मायणी खोलामा पुनः पखाल्ने परम्परा रहेको छ । लज्ज बोकेर पखालेर ल्याउने व्यक्तिलाई पुत्रलाभ हुने जनविश्वास रहेको छ ।

लिङ्गलाई कमलपोखरीबाट ल्याएपछि इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपाल क्षेत्रमा घर–पसल परिक्रमा गराइन्छ । घर तथा पसलमा ल्याइने लिङ्गको पूजाआजा र दर्शन गरे व्यापार–व्यवसायमा उन्नति हुने विश्वास गरिन्छ ।

भीमसेन गुठीका गायजुहरूले यौनरसयुक्त पारम्परिक गीत गाउँदै नगर परिक्रमा गराउने चलन पनि छ ।

फागुपूर्णिमाको दिन साँझपख यसै लिङ्गलाई एक व्यक्तिले काँधमा बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ ।

लिङ्ग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखि सुरु भएको भन्ने यकिन तथ्य नभए पनि १७औँ शताब्दीमा राजा जगतप्रकाश मल्लले निर्माण गरेको यस मन्दिरसँगै यो परम्परा चल्दै आएको बताइन्छ ।

फागु पर्वको सुरुवात जनाउन वसन्तपुर दरबार क्षेत्रमा चीर गाड्ने परम्परासँगै भक्तपुरमा पनि लिङ्ग प्रदर्शन गरिन्छ । संस्कृतिकर्मी यशोधरा मानन्धरका अनुसार यसलाई सृष्टि, उर्वरता र शिव–शक्ति मिलनको प्रतीकका रूपमा लिने गरिन्छ ।

संस्कृतिविद्हरूका अनुसार भीमसेनलाई महादेवको ११औँ अवतारमध्ये एक मानिने भएकाले यो पर्वलाई महादेव–पार्वतीको प्रतीकात्मक मिलनका रूपमा समेत व्याख्या गरिन्छ ।

 पात्रो/राशिफल  रेडियो YouTube