निर्वाचन सुरक्षाका लागि झुलाघाट नाका तीन दिन बन्द

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
612 views

ललितपुर - ललितपुर – आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म तीन दिनका लागि बन्द हुने भएको छ ।

मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रधान जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमा सुरक्षा कडा गरिएको छ ।

जिल्लाको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको र सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको तथा सशस्त्र प्रहरी बल (बिओपी)मार्फत निगरानी बढाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटहरूमा डुङ्गामार्फत हुने आवतजावत निर्वाचन अवधिभर बन्द गरिने छ ।

गत चुनावका समयमा पनि ७२ घण्टा सीमानाका बन्द गरिन्थ्यो भने अत्यावश्यक कामका लागि दुई देशको आपसी समन्वयमा नाका खोल्न सकिने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube