करसम्बन्धी सेवा अब पौवादुङमा गाउँपालिकाबाटै

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
408 views

ललितपुर - ललितपुर – पौवादुङमा गाउँपालिका बाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको छ । जिल्ला करदाता सेवा कार्यालय हटेपछि नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरान सँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

सरकारको २०८२ कात्तिक १७ को निर्णयअनुसार साविक करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका केही सेवा अब स्थानीय तहबाटै उपलब्ध गराइने सहमति भएको छ । यस व्यवस्थासँगै सामान्य करसम्बन्धी कामका लागि सेवाग्राहीले टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।

समझदारीअनुसार गाउँपालिकाले व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्ने, स्थानीय व्यवसायलाई प्यान उपलब्ध गराउने, मूल्य अभिवृद्धि कर दर्ताका लागि सिफारिस गर्ने, अन्तःशुल्क इजाजतपत्र सहजीकरण गर्ने तथा कर चुक्ता प्रमाणपत्रका लागि सिफारिस गर्ने सेवा प्रदान गर्नेछ ।

करदाता दर्ता विवरण संशोधन, करसम्बन्धी शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालनमा सहकार्य गरिनेछ। यसबाट करसम्बन्धी प्रक्रिया सरल र पहुँचयोग्य हुने, सेवा छिटोछरितो हुने तथा राजस्व प्रशासन नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार चैत ५ गतेदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा आउनेछ। गाउँपालिका अध्यक्ष किरण राईका अनुसार करसम्बन्धी प्रक्रिया सरल बनाउने र सेवाग्राहीलाई राहत दिने लक्ष्यसहित सेवा सुरु गर्न लागिएको हो ।

 पात्रो/राशिफल  रेडियो YouTube