ललितपुर - ललितपुर – टर्की मा एफ–१६ लडाकू जेट विमान बुधबार उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको छ । रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मिडियाले यो खबर दिएको हो ।
विमान बालिकेसिरबाट उडान भरेपछि रेडियो र ट्र्याकिङ जानकारी प्रस्थानलगत्तै हराएको मन्त्रालयले जनाएको छ ।
खोजी तथा उद्धार अभियानमार्फत भग्नावशेष भेटिएको र पाइलटको मृत्यु पुष्टि भएको मन्त्रालयले बताएको छ । दुर्घटनाको कारणबारे दुर्घटना परीक्षण टोलीले अनुसन्धानपछि निष्कर्ष निकाल्ने जनाइएको छ ।
यसअघि गत नोभेम्बरमा छिमेकी जर्जियामा सी–१३० कार्गो विमान दुर्घटनामा २० जनाको मृत्यु भएपछि टर्कीले उडान स्थगित गरेको थियो ।
लकहिड मार्टिन द्वारा निर्मित एफ–१६ विमानहरू पछिल्लो समय पटक–पटक दुर्घटनामा परेका छन् । जनवरीमा ताइवानमा एफ–१६ समुद्रमा खसेको थियो भने अगस्टमा पोल्यान्डमा एयर शो रिहर्सलका क्रममा दुर्घटना हुँदा पाइलटको मृत्यु भएको थियो ।

बिजनेस पाटी