ललितपुर - ललितपुर – डोनाल्ड ट्रम्पले १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिका विभिन्न क्षेत्रमा सफल भइरहेको दाबी गर्दै आफ्नो आर्थिक र विदेश नीतिलाई सफल सावित गर्ने प्रयास गर्नुभएको छ । घट्दो अनुमोदन दर र मध्यावधि चुनावको सन्दर्भमा यो उहाँको कार्यकालकै सबैभन्दा लामो सम्बोधन हो ।
अर्थतन्त्र अपेक्षाभन्दा बलियो रहेको र रिपब्लिकनलाई समर्थन गरे थप प्रगति हुने उहाँको दाबी छ । ‘हाम्रो देश फेरि जित्दैछ,’ उहाँले भन्नुभयो, ‘हामी यति धेरै जित्दैछौँ कि कहिलेकाहीँ के गर्ने भन्ने नै थाहा हुँदैन ।’
भाषणमा सैन्य कारबाही, व्यापार नीति र आप्रवासन नियन्त्रणलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ । आयात शुल्कसम्बन्धी सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै उहाँले वैकल्पिक कानूनी प्रावधान प्रयोग गर्ने सङ्केत दिनुभएको छ ।
आप्रवासनविरुद्ध कडा सन्देश दिँदै अवैध आप्रवासीभन्दा अमेरिकी नागरिकको रक्षा प्राथमिकता हुनुपर्ने उहाँको भनाइ छ। साथै मतदाता परिचय कडा पार्ने प्रस्तावसमेत अघि सारिएको छ ।
विदेश नीतिमा इरानलाई आणविक हतियार राख्न नदिने चेतावनी दोहोर्याइएको छ । आवश्यक परे कठोर कदम चाल्ने तर कूटनीतिक समाधान प्राथमिकता हुने उहाँको धारणा छ।
सम्बोधनले उपलब्धि प्रस्तुत गरे पनि कङ्ग्रेसभित्रको विभाजन र आर्थिक चिन्ताले राजनीतिक चुनौती कायमै रहेको विश्लेषण छ ।

बिजनेस पाटी