पर्यटन प्रवर्द्धनमा नेपाली कांग्रेस : नेपाललाई प्रमुख गन्तव्य बनाउने लक्ष्य

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
765 views

ललितपुर - ललितपुर – नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना सार्वजनिक गरेको छ । मुलुकमा वार्षिक ३० लाख पर्यटक भित्र्याउन सरोकार भएका निकायसँगको समन्वयमा पहल गर्ने प्रतिज्ञा गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले चुनावी वाचा गर्दै आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको हो ।

कांग्रेसले पर्यटन क्षेत्रको हिस्सा कूल गार्हस्थ्य उत्पादनमा १५ देखि २० प्रतिशत पुर्‍याउने लक्ष्यका लागि नेपालका विमानस्थल यात्रीमैत्री, सुविधायुक्त बनाउन आवश्यक स्रोतको व्यवस्था गर्ने प्रतिज्ञा गरेको छ । पर्यटनको लक्ष्य प्राप्तिमा कांग्रेसले नेपाल वायुसेवा निगमलाई छ महिनाभित्र व्यवस्थापन सुदृढीकरणमार्फत ‘जनताको ध्वजाबाहक’मा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।

सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराई नेपाललाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न विभिन्न कार्य गर्ने कांग्रेसले जनाएको छ । हवाई भाडा सस्तो बनाउन विमानस्थल सञ्चालन, ल्यान्डिङ पार्किङ र हवाई इन्धनको अतिरिक्त शुल्क घटाउने प्रतिज्ञा गरिएको छ ।

‘एयर ट्राफिक’ व्यवस्थापन चुस्त बनाएर आकाशमा हुने विमानको होल्डिङ समय न्यूनीकरण गर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी दुई स्वायत्त निकायमा विभाजन गर्ने तथा हवाई सुरक्षा सुदृढ गर्ने योजना छ । पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा चलाउन र विश्वका प्रमुख सहरबाट सीधा उडान सम्पर्क गर्न कूटनीतिक पहल गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ ।

कांग्रेसले पर्यटनलाई रोजगारी, उद्यमशीलता र स्थानीय समुन्नतिको आधार बनाउँदै नेपाललाई विश्वकै उत्कृष्ट प्राकृतिक, आध्यात्मिक र सांस्कृतिक गन्तव्य बनाउने संकल्प गरेको छ । ‘आरोग्य नेपाल’ नारासहित शान्ति, ध्यान र आरोग्यको विश्व गन्तव्य बनाउन कार्यक्रम अघि बढाउने जनाएको छ ।

जनकपुर–लुम्बिनी–काठमाडौं आध्यात्मिक र बुद्ध–टु–शिव डिजिटल कोरिडोर तथा मुक्तिनाथ, जनकपुर र लुम्बिनीलाई हवाई र सडक सञ्जालले जोडेर एकीकृत पर्यटकीय सर्किट बनाउने योजना छ । साथै राष्ट्रिय कला कोष, नेपाली उत्सवको अन्तरराष्ट्रिय क्यालेन्डर र पर्यटन उद्यमीलाई सहुलियत व्यवस्था गर्ने वाचा गरिएको छ ।

कांग्रेसले सफा हिमाल र सुरक्षित आरोहण, हिमताल संरक्षणमा रोयल्टीको ३० प्रतिशत खर्च, आरोहीका लागि पूर्वानुमान सेवा, र पर्यटन क्षेत्रमा मर्यादित रोजगारीको नीति सुनिश्चित गर्ने प्रतिज्ञा गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube