महानगरको शैक्षिक अभियानः एसइई सुधारका लागि विशेष कक्षा

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
459 views

ललितपुर - ललितपुर – काठमाडौं महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधारका लागि छ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ । गत वर्षको एसइई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने योजना अनुरूप कार्यक्रम अघि बढाइएको हो ।

कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार पहिलो चरणमा गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुहेश्वरी बालशिक्षा माध्यमिक विद्यालय मा कक्षा सुरु गरिएको हो । यी विद्यालयमा ५२३ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइनेछ । विषय विज्ञ, स्रोत शिक्षक तथा सेवानिवृत्त शिक्षकहरूले कक्षा सञ्चालन गर्नेछन् ।

न्यून नतिजा र न्यून विद्यार्थी भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालय मा आउँदो चैत ३ गतेपछि कक्षा सञ्चालन हुनेछ । यी विद्यालयका १०४ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइनेछ

यसरी दुवै समूह गरी ६२७ जना विद्यार्थीलाई विशेष कक्षा प्रदान गरिनेछ

गीतामाता माविमा कक्षाको सुरुआत गर्दै कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विद्यार्थीमा परीक्षाको डर हटाई आत्मविश्वास बढाउने र उत्तर लेख्ने सीप विकास गर्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताउनुभयो ।

यस वर्ष कामपाका सामुदायिक विद्यालयबाट करिब चार हजार ५५७ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन्

विसं २०८१ को एसइईमा सहभागीमध्ये ७८९ विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए, जसमा १७ जनाले ४ जिपिए हासिल गरेका थिए । यो नतिजा २०८० कोभन्दा ४४.७७ प्रतिशत धेरै हो ।

 पात्रो/राशिफल  रेडियो YouTube