ललितपुर - ललितपुर – गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१) लाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउन दैनिक निर्वाचन सुरक्षासम्बन्धी समीक्षा गरिरहेको जनाएको छ ।
केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं ओमप्रकाश अर्यालको अध्यक्षतामा भएको बैठकमा निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा, रणनीति, जनशक्ति परिचालन र जिल्ला समन्वय प्रभावकारी बनाउने काम गरिएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय सुरक्षा परिषद्, गृहमन्त्रीको अध्यक्षतामा रहेको केन्द्रीय सुरक्षा समिति, प्रदेश प्रमुख सचिवको अध्यक्षतामा रहने प्रदेश सुरक्षा कमाण्ड पोष्ट, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति जस्ता चारवटै सुरक्षा निकायका प्रमुख सहभागी रहेको संयन्त्रले स्थानीयदेखि केन्द्रसम्मको वस्तुस्थिति, सूचना, निर्वाचनसम्बन्धी गतिविधि सुक्ष्म विश्लेषणसहित नियमन गरिरहेको छ ।
सुरक्षालाई चुस्त राख्न हरेक दिन गृहमन्त्री र सुरक्षा टिम निरन्तर सक्रिय रहेको बताइएको छ ।
निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत निर्वाचनअघि, निर्वाचन अवधिमा र निर्वाचनपश्चात् मतपत्रको ढुवानी र परिणाम घोषणासम्मका कार्य व्यवस्थित र सुरक्षित बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अन्तर्गत कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, गृहमन्त्री अर्यालको अध्यक्षतामा भएको बैठकले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बैठकमा मन्त्री अर्यालले सबै सुरक्षा निकायले आपसी समन्वय गरी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्नेगरी निर्देशन दिनुभएको थियो । बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बिजनेस पाटी