झापामा तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
357 views

ललितपुर - ललितपुर – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गतका तीन मतदान केन्द्रको नेतृत्व महिलालाई प्रदान गरिएको छ । मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईका अनुसार भद्रपुर नगरपालिका–८ स्थित मेची रंगशाला मा रहेको मतदानस्थलका सबै केन्द्रमा महिलालाई जिम्मेवारी तोकिएको हो ।

उहाँका अनुसार सो स्थलका तीनवटै मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारी र सुरक्षाकर्मीसमेत महिलानै खटिएका छन् । ‘क’ केन्द्रमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेती मतदान अधिकृत रहनुभएको छ भने सहायक मतदान अधिकृतमा प्रतिक्षा घिमिरे तोकिएकी छन् ।

त्यस्तै ‘ख’ केन्द्रमा विशेष नापी कार्यालय दमककी सृजना पन्त मतदान अधिकृत तथा जुनु पोखरेल सहायक मतदान अधिकृतको भूमिकामा रहनुभएको छ । ‘ग’ केन्द्रमा भद्रपुर नगरपालिकाकी गोमा दाहाल मतदान अधिकृत र प्रतिमा राई सहायक मतदान अधिकृतको जिम्मेवारीमा खटिनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा मतदान अधिकृतहरूलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान भइरहेको छ । झापामा सात लाख १३ हजार ५३७ मतदाता, ८१५ मतदान केन्द्र२८५ मतदानस्थल रहेका छन् । निर्वाचनका लागि ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ कर्मचारी परिचालन गरिएको छ ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन जिल्लाका २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू क्रमशः कार्यक्षेत्रमा खटिँदै गएको कार्यालयले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube