ललितपुर - ललितपुर – साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । बिहीबार नेप्से परिसूचक ६.०३ अङ्कले बढेर २६५४.९३ विन्दुमा पुगेको छ ।
आज ३३५ कम्पनीका १ करोड ५३ लाख कित्ता सेयर कारोबार हुँदा कुल ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँ बराबरको किनबेच भएको छ ।
कारोबार भएका कम्पनीमध्ये १३७ कम्पनीको शेयर मूल्य बढ्दा ११८ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहेको छ ।
सबैभन्दा धेरै कमाउनेमा सालपा विकास बैंक रहेको छ, जसको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५८४.५० पुगेको छ । त्यसैगरी रिलायन्स स्पिनिङ मिलको मूल्य ९.२६ प्रतिशत र हिम स्टारको मूल्य ६ प्रतिशतले वृद्धि भएको छ ।
समूहगत परिसूचकतर्फ निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०६ प्रतिशतले बढेको छ भने होटल, उत्पादनमूलक, माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूह घटेका छन् ।
कारोबार रकमका आधारमा अपी पावर कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी आँखुखोला जलविद्युत कम्पनीको २१ करोड १३ लाख र एसवाई प्यानलको १५ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिजनेस पाटी