ललितपुर - ललितपुर – इरान र अमेरिकी प्रतिनिधिमण्डलहरूले बिहीबार अप्रत्यक्ष आणविक वार्ताको पछिल्लो चरणमा ‘नयाँ र रचनात्मक विचार तथा समाधानका लागि अभूतपूर्व लचिलोपन’ प्रदर्शन गरेका छन् ।
ओमानी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत् सार्वजनिक गरेको विज्ञप्तिमा नयाँ समाधान खोजीमा दुवै पक्षले ‘अभूतपूर्व लचकता’ देखाएको उल्लेख गरिएको छ ।
ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमद बिन हमुद अल्बुसैदीले जेनेभामा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँग अप्रत्यक्ष छलफल गर्नुभएको हो ।
बैठकमा इरानको आणविक कार्यक्रमका प्रमुख तत्व, प्राविधिक तथा निरीक्षण पक्ष र सम्भावित सम्झौताका लागि आवश्यक ग्यारेन्टीबारे छलफल भएको बताइएको छ ।
अल्बुसैदीका अनुसार, वार्ताकारहरूको लचिलोपनका कारण प्रगतिका लागि अनुकूल वातावरण बनेको छ र दिगो तथा निष्पक्ष सम्झौताका लागि गहन र रचनात्मक प्रयास जारी छन् ।
यसअघि बुधबार साँझ अल्बुसैदीले जेनेभामै इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

बिजनेस पाटी