ललितपुर - ललितपुर – भारत र इजरायलले आतङ्कवादविरूद्धको लडाइँमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इजरायल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त धारणा राख्नुभएको हो ।
सन् २०१४ मा प्रधानमन्त्री बनेयता मोदीको यो प्रधानमन्त्रीका रूपमा दोस्रो इजरायल भ्रमण हो ।
जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटमा मोदीले भन्नुभयो, ‘भारत र इजरायल विश्वमा आतङ्कवादका लागि कुनै ठाउँ छैन भन्ने कुरामा स्पष्ट छन् । हामी काँधमा काँध मिलाएर आतङ्कवादविरूद्ध अभिनेछौँ ।‘
उहाँले जोड दिँदै भन्नुभयो, ‘मानवता कहिल्यै पनि द्वन्द्वको शिकार बन्नु हुँदैन ।‘
एक दिनअघि मोदीले इजरायलको संसदलाई सम्बोधन गर्दै प्रविधि, ऊर्जा, संयुक्त विकास, उत्पादन र प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्ने उल्लेख गर्नुभएको थियो । साथै नागरिक परमाणु ऊर्जा र अन्तरिक्ष क्षेत्रमा समेत सहयोग अगाडि बढाइने बताउनुभयो ।
दुवै नेताले भ्रमणलाई व्यापार, लगानी र प्राविधिक साझेदारी प्रगाढ बनाउने पहल का रूपमा चित्रण गरेका छन् । स्वतन्त्र व्यापार सम्झौता, सेमीकन्डक्टर, कृत्रिम बौद्धिकता र भारतको ‘यूपीआई’ डिजिटल भुक्तानी प्रणालीलाई इजरायली बजारमा विस्तार गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
नेतान्याहुले मोदीलाई ‘एक मित्रभन्दा बढी, एक भाइ‘ को संज्ञा दिँदै दुई देशको सम्बन्धलाई बलियो र विस्तारित साझेदारीको रूपमा वर्णन गर्नुभयो । उहाँले भन्नुभयो, ‘भविष्य नवप्रवर्तन गर्नेहरूको हो, र इजरायल तथा भारत नवप्रवर्तनमा तल्लीन छन् ।‘
बिहीबार दुई नेताको उपस्थितिमा शिक्षा, भौगोलिक अन्वेषण र कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा दर्जनभन्दा बढी सम्झौतामा हस्ताक्षर भएका छन् ।
मोदीको भ्रमण मध्यपूर्व र गाजा द्वन्द्व आसपासको तनाव शान्त पार्ने कूटनीतिक पहल चलिरहेकै बेला भएको हो ।

बिजनेस पाटी