निर्वाचन ६ दिन बाँकी : मादक पदार्थ बिक्री र सेवनमा रोक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
357 views

ललितपुर - ललितपुर – निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।

आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार यो प्रस्ताव गरेको हो ।

सुरक्षा अवस्थाको समीक्षा एवं गृह मन्त्रालयलाई निर्देशन दिई सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरू मार्फत निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगले व्यवस्था मिलाएको छ ।

जिल्ला आचारसंहिता अनुगमन समितिले निषेध गरिएका कार्य हुन नदिने र भएमा तत्काल कानुनी कारबाही गरी आयोगमा जानकारी गराउने निर्देश पाएको छ ।

मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार, सुरक्षा, विद्युत् मर्मत, खानेपानी र ढल मर्मत), दूरसञ्चार सेवा मर्मत, कूटनीतिक नियोगका सवारीसाधन र पास प्राप्त सवारीसाधन भने निर्वाध सञ्चालन हुनेछन् ।

सार्वजनिक तथा निजी सवारीसाधन भने फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म रोक लगाइने निर्णय भएको छ ।

मतदानमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत सञ्चालन हुने व्यवस्था मिलाइएको छ र यात्रुलाई विमानस्थल–घर/होटल र घर/होटल–विमानस्थलसम्म सवारीसाधन उपलब्ध गराइने छ ।

मतदाताले मतदान गर्न मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय/परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्र देखाएर मतदान गर्न सक्नेछन् ।

मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान पाउने कुरा सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालालाई जानकारी गराउने निर्णय गरिएको छ ।

मतदानको दिन निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी हुने सवारी पासका लागि आयोगको सचिवालय परिसरमा पास वितरण एकाइ खडा गरिने छ र सो एकाइमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयका कर्मचारी चार जना परिचालन गरिने व्यवस्था मिलाइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube