ललितपुर - ललितपुर – जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको छ ।
धानखेतीमा मेसिन (ट्रान्सप्लान्टर) प्रयोग बढ्दै गएको र जिल्लाका विभिन्न स्थानमा १० वटा धान रोप्ने मेसिन उपलब्ध रहेका छन्।
गत वर्ष जिल्लामा करिब २० हजार हेक्टरमा चैते धानखेती गरिएको भए तापनि यस वर्ष मकैखेतीतर्फ किसानको आकर्षण बढ्दा १५–२० प्रतिशतले धानखेती क्षेत्रफल घट्ने देखिएको छ ।
गत वर्ष चैते धानको मूल्य प्रतिमन रु ७०० मात्र रहेकाले किसान निराश भई वैकल्पिक बालीतर्फ मोडिएका थिए । यस कारण धानको बीउ आपूर्ति गर्ने कम्पनीहरूले पनि अपेक्षित बिक्री गर्न नसकेको जनाइएको छ ।
हर्दिनाथ–६ जातको धान प्रतिमन रु एक हजारमा खरीद सुनिश्चितता भएपछि किसानले लगाउन सुरु गरेका छन् । यद्यपि धेरैजसो किसानले अझै हर्दिनाथ–१ जातलाई प्राथमिकतामा राखेका छन् ।
कृषि ज्ञान केन्द्रको सहयोगमा ‘छरुवा धान’ प्रविधि पनि प्रोत्साहित गरिएको छ । यो प्रविधिबाट धानको उत्पादन सुधार हुने भए तापनि प्राविधिक पक्षमा ध्यान नदिँदा किसानलाई झार नियन्त्रणमा समस्या हुने गरेको छ ।
धानखेतीका लागि आवश्यक रासायनिक मल जिल्लामा पर्याप्त रहेको जानकारी प्रमुख विष्टले दिनुभएको छ ।

बिजनेस पाटी