पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा पहिलोपटक देखियो

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
714 views

ललितपुर - ललितपुर –  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ ।

विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर भूभागमा देखिनु संरक्षणका हिसाबले महत्त्वपूर्ण मानिएको छ ।

यो अवलोकन नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का वरिष्ठ चराविज्ञ हिरूलाल डगौरा, दिलीप चन्द ठकुरी, सुमन चौधरी, डा विकल्प पाण्डेलगायत टोलीले अभिलेख गरेका हुन् ।

‘मदना चाँचर’को वैज्ञानिक नाम टर्डस बुबुल हो र यो थ्रस (चाँचर) परिवारमा पर्ने चरा हो ।

अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आयुसिएन)ले यसलाई विश्वस्तरमा ‘कम चिन्ताजनक’ मान्दै आएको भए पनि, शुक्लाफाँटाका लागि स्थानीय रूपमा दुर्लभ प्रजाति हो ।

यो चरा मुख्यतः १८००–२७०० मिटर उचाइमा मध्यपहाडी र हिमाली क्षेत्रका आद्र्र वनमा बस्छ, तर तराईमा देखिनु असामान्य मानिन्छ ।

नेपालदेखि उत्तरी भियतनामसम्मका पहाडी क्षेत्रमा सीमित मानिने यो प्रजाति तराईमा देखिनुले जलवायु परिवर्तन र पारिस्थितिक प्रणालीमा भएको फेरबदलको सङ्केत दिएको छ ।

शुक्लाफाँटामा यो नयाँ पाहुनाको आगमनसँगै निकुञ्जमा पाइने चराहरूको सङ्ख्या बढेको छ ।

अवलोकनपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज चराविज्ञान र वैज्ञानिक अनुसन्धानको दृष्टिले महत्त्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube