सम्झौताविना टुङ्गियो आणविक वार्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
714 views

ललितपुर - ललितपुर – मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला संयुक्त राज्य अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे भएको अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौताविना समाप्त भएको छ । जेनेभामा भएको छलफलपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने स्पष्ट सङ्केत छैन ।

मध्यस्थता गरिरहेका ओमान विदेश मन्त्रालयले उल्लेखनीय प्रगति भएको बताए पनि सहमति सार्वजनिक भएन । इरानले युरेनियम संवर्धन जारी राख्ने, संवर्धित सामग्री विदेश पठाउने प्रस्ताव अस्वीकार गर्ने र प्रतिबन्ध हटाउनुपर्ने अडान दोहोर्‍याएको छ।

अमेरिकी पक्ष आणविक कार्यक्रम पूर्ण रोक्ने सम्झौता चाहन्छ भने इरानले संवर्धनलाई शान्तिपूर्ण अधिकार बताउँदै क्षेप्यास्त्र कार्यक्रम वा क्षेत्रीय समूहसँग सम्बन्धबारे छलफल अस्वीकार गरिरहेको छ ।

प्राविधिक तहका वार्ता अर्को हप्ता अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीमा जारी रहनेछ, जहाँ सहमतिमा एजेन्सीको भूमिका महत्त्वपूर्ण हुनेछ ।

इरानका विदेशमन्त्रीले सम्भावित युद्ध विनाशकारी हुने चेतावनी दिँदै अमेरिकी आक्रमण भए क्षेत्रीय तनाव फैलिने जोखिम औँल्याउनुभएको छ । विश्लेषकहरूका अनुसार दुवै पक्षबीच अझै केही साझा आधार बाँकी छ, तर सम्झौता कठिन देखिन्छ ।

वार्ता असफल भए सैन्य कारबाही र क्षेत्रीय तनावको जोखिम बढ्नेछ, जसले पर्सियन खाडी र तेल आपूर्तिमा असर पार्न सक्छ। अहिले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पनि बढेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube