चिनद्वारा अफगान–पाकिस्तानमा बीच युद्धविरामको आह्वान

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
918 views

ललितपुर - ललितपुर – चिनले हाल अफगान–पाकिस्तानमा बीच जारी हिंसात्मक झडप रोक्न युद्धविरामको आह्वान गर्दै दुवै पक्षसँग वार्ता गरिरहेको जनाएको छ । बेइजिङका अनुसार द्वन्द्वले गहिरो चिन्ता उत्पन्न गरेको छ र यथाशीघ्र रक्तपात रोक्नु आवश्यक छ ।

पाकिस्तान चीनको प्रमुख रणनीतिक साझेदार हो भने बेइजिङले आफूलाई अफगानिस्तानको मैत्रीपूर्ण छिमेकी मान्दै आएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा भन्नुभयो, चीन दुवै पक्षलाई संयम र शान्त रहन आग्रह गर्छ । युद्धविराम र तनाव न्यूनीकरणमा रचनात्मक भूमिका खेल्न हामी तयार छौँ ।

यो प्रतिक्रिया त्यसबेला आएको हो जब पाकिस्तानले शुक्रबार काबुललगायत अफगान प्रमुख सहरहरूमा हवाई आक्रमण गर्यो । त्यसअघि अफगान सेनाले पाकिस्तानी सीमा बलमाथि आक्रमण गरेको थियो र पाकिस्तानका रक्षामन्त्रीले छिमेकीसँग खुला युद्ध घोषणा गरिसक्नुभएको छ ।

विश्लेषकहरूका अनुसार चीनले पाकिस्तानमा बेल्ट एन्ड रोड परियोजनामा अर्बौँ डलर लगानी गरेको छ र तालिबानसँग सम्बन्ध सन् २०२१ पछि अझ बलियो बनेको छ । माओ निङले दुवै देशमा रहेका चिनियाँ नागरिक, परियोजना र संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको र आवश्यकता परे सहयोग दिन तयार रहेको बताउनुभयो । बेइजिङले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्ना नागरिकको सुरक्षामा प्रतिबद्ध रहेको जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube