ललितपुर - ललितपुर – वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ। सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा गुगल नक्सा पूर्ण रूपमा सञ्चालन हुने बाटो खुलेको मानिएको छ।
भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकारी अधिकारी र निजी विज्ञहरूको समीक्षा पश्चात् गुगलको १ः५,००० स्केलको विस्तृत म्यापिङ डाटा निर्यात गर्ने अनुरोध स्वीकृत गरिएको हो । तर अनुमति नेभिगेसन सेवाका लागि आवश्यक सीमित डाटामात्र स्थानान्तरण गर्न पाइने, उचाइ रेखाजस्ता संवेदनशील विवरण समावेश नगर्ने र थप सुरक्षा उपाय अपनाउने सर्तमा दिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।
गुगलले पहिलो चरणमा डाटा दक्षिण कोरियाभित्रैका सर्भरमा प्रशोधन गर्नुपर्ने र त्यसपछि मात्र सरकारी स्वीकृति लिएर निर्यात गर्न पाउने व्यवस्था छ । सटीक निर्देशाङ्क हटाउन र सैन्य तथा संवेदनशील स्थलका स्याटेलाइट तथा हवाई तस्वीर धमिलो बनाउनुपर्ने माग पनि सरकारले राखेको छ ।
सरकारले गुगललाई नक्सा डाटा निर्यातसम्बन्धी विषय व्यवस्थापन गर्न अनुपालन अधिकारी नियुक्त गर्न निर्देशन दिएको छ। सर्तहरू पालना नभए स्वीकृति निलम्बन वा रद्द गर्न सकिने मन्त्रालयले जनाएको छ ।
गुगलले निर्णयलाई स्वागत गर्दै कोरियामा पूर्ण रूपमा कार्यशील गुगल नक्सा उपलब्ध गराउन सहकार्य गर्ने अपेक्षा व्यक्त गरेको छ ।
यसअघि सुरक्षा चिन्ता र घरेलु सर्भरमै डाटा राख्नुपर्ने नीतिका कारण गुगलको विस्तृत डाटा निर्यात अस्वीकृत हुँदै आएको थियो। प्रतिबन्धका कारण कोरिया त्यस्ता थोरै देशमध्ये थियो जहाँ गुगल नक्सा सीमित थियो, र प्रयोगकर्ताहरू स्वदेशी सेवामा निर्भर थिए।
आलोचकहरूले प्रतिबन्धले विदेशी पर्यटकमा असन्तुष्टि बढाएको र पर्यटनमा असर पारेको तर्क गरेका छन् । गुगल नक्साको सीमित प्रयोगले अन्तर्राष्ट्रिय यात्रा गन्तव्यका रूपमा कोरियाको आकर्षणमा प्रभाव पारेको उनीहरूको भनाइ छ ।

बिजनेस पाटी