ललितपुर - ललितपुर – काठमाडौं महानगरपालिकाले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ ।
विद्यालयलाई प्रविधिमैत्री बनाउने कार्यअन्तर्गत कामपाले सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आया र अन्य कर्मचारी गरी ८३ वटा विद्यालयका ३६ हजार २८० जनालाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो।
गएको माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको थियो। त्यसपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले विद्यालय परिवारलाई प्रणालीमा आबद्ध गराएको हो।
डाटा इन्ट्री, अद्यावधिक र प्रतिवेदन बनाउने क्षमता विकास भएपछि विद्यालयकै जनशक्तिबाट प्रणालीमा तथ्याङ्क प्रविष्ट गरिएको छ। शिक्षक, कर्मचारी र विद्यार्थी गरी कक्षा १० सम्म करिब ४५ हजार जनाको तथ्याङ्क प्रणालीमा समेटिएको कामपा विभागका प्रमुख ढकालले जानकारी दिनुभयो।
२०८२ चैत १ देखि विद्यालयहरूमा पठाउने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आबद्ध तथ्याङ्कका आधारमा निर्णय गर्ने व्यवस्था गरिएको थियो।
यही फागुन १३–१४ गते विभागले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग बैठक गर्दै प्रणाली प्रभावकारी कार्यान्वयन नगरे अनुदान रकम पठाउन नसकिने भएकाले बाँकी हाजिरी काम तत्काल पूरा गर्न आग्रह गर्नुभएको थियो।
विद्यालयहरूको भौतिक पूर्वाधार विकासका लागि पूर्वाधार सर्वेक्षणको काम भइरहेको छ। चालु आर्थिक वर्षमा यसका लागि रु ३६ करोड विनियोजन गरिएको छ।
पहिलो चरणमा चार, दोस्रो चरणमा ११ र तेस्रो चरणमा २३ विद्यालयहरूको विस्तृत परियोजना प्रतिवेदन तयारी भइरहेको छ।
विसं २०८२ माध्यमिक शिक्षा परीक्षा (एसइई) लक्षित गरी विशेष तयारी कक्षा सञ्चालन भइरहेको छ। पहिलो चरणमा छ र दोस्रो चरणमा पाँच गरी ११ विद्यालयमा विषय विज्ञ तथा स्रोत शिक्षकबाट कक्षा संचालन भइरहेको छ। अन्य विद्यालयहरूको लिखित माग भएमा विभागले विशेष कक्षाको व्यवस्थापन गर्ने भएको छ।
२०८२ चैत मसान्तसम्म दरबन्दी मिलान सम्पन्न गरेर नयाँ शैक्षिक सत्र २०८३ वैशाखदेखि शिक्षक व्यवस्थापन गर्ने तयारी कामपाले गरेको छ।

बिजनेस पाटी