ललितपुर - ललितपुर – कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै दूतावासले कतारमा रहेका सबै नेपालीलाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको हो ।
दूतावासका अनुसार कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनको पालना गर्न, घरभित्र रहन र उचित सावधानी अपनाउन आवश्यक छ । साथै, अज्ञात स्रोतबाट आएका अफवाह तथा अप्रमाणित सूचनामा विश्वास नगर्न पनि दूतावासले सुझाव दिएको छ ।
अप्रमाणित सूचना, समाचार वा भिडियो क्लिपहरू नपठाउन, आधिकारिक घोषणा र आपत्कालीन सतर्कता सन्देश निरन्तर हेरी त्यसको पालना गर्न तथा दूतावाससँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ । दूतावासले कतारमा रहेका नेपालीसँग टेलिफोनलगायत माध्यमबाट नियमित सम्पर्कमा रहेको जनाएको छ। हाल कतारमा करिब तीन लाख ६० हजार नेपाली श्रमिक कार्यरत छन् ।
पश्चिम एसियामा तनाव बढेको सन्दर्भमा, संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि इरानले प्रत्याक्रमण गरेकाले क्षेत्रीय परिस्थिति थप संवेदनशील बनेको छ । दूतावासले यही परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो ।

बिजनेस पाटी