ललितपुर - ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी का बाजुरा जिल्ला सचिव पूर्णबहादुर बुढाले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बुढालाई एमालेका केन्द्रीय सदस्यहरू कर्णबहादुर थापा र नरेश रोकायाले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् । एमाले केन्द्रीय सदस्य थापाले बुढाको संगठनात्मक अनुभव र क्षमताले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै जिल्लामा एमालेको जनाधार विस्तारमा उनको भूमिका महत्वपूर्ण हुने बताए ।
पार्टीमा आबद्ध हुँदै बुढाले आफ्नो राजनीतिक यात्राको नयाँ मोड सुरु भएको घोषणा गरेका छन् । स्थानीय तहदेखि जिल्ला तहसम्म संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका बुढा पछिल्लो दुई वर्षदेखि रास्वपामा जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै बुढाले मुलुकको समग्र विकास, स्थायित्व र समृद्धिका लागि एमाले नै उपयुक्त राजनीतिक शक्ति भएको उल्लेख गरे। रास्वपामा देश परिवर्तनका लागि स्पष्ट नीति तथा दीर्घकालीन कार्यदिशा नदेखिएकाले आफू पुनः एमालेमा फर्किएको उनको भनाइ छ ।
बाजुरामा एमालेबाट लालबहादुर थापा उम्मेदवार छन्, जसले आगामी राजनीतिक प्रतिस्पर्धामा पार्टीको प्रतिनिधित्व गर्नेछन्।

बिजनेस पाटी