खाद्य कम्पनीले तीन महिनामा ११ हजार क्विन्टल धान खरिद

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ फाल्गुन १७
|
765 views

ललितपुर - ललितपुर –  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड को मधेश प्रदेश कार्यालय, जनकपुरधाम ले पछिल्ला तीन महिनामा महोत्तरी र धनुषाका कृषकसँग ११ हजार ६ सय ६५ क्विन्टल धान खरिद गरेको जनाएको छ ।

कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार महोत्तरीधनुषा का करिब ३०० कृषकबाट चार करोड २३ लाख २४ हजार रुपैयाँ बराबरको धान खरिद गरिएको छ । गोदाम भरिएपछि हाल धान खरिदको कार्य स्थगित गरिएको छ । प्रतिक्विन्टल तीन हजार ६ सय २८ रुपैयाँ ३३ पैसामा खरिद गरिएको धानको गुणस्तर परीक्षणपछि मात्र खरिद गरिएको कार्यालयले जनाएको छ ।

धान खरिद गत मङ्सिर २८ गतेबाट सुरु गरिएको थियो। बजार मूल्यभन्दा सरकारी मूल्य बढी भएकाले कृषकहरू उत्साहपूर्वक धान बिक्री गर्न आएका थिए। सहायक प्रबन्धक गङ्गा प्रसाद साहका अनुसार लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा बलवा नगरपालिका का कृषक बढी सहभागी भएका छन् ।

कम्पनीले प्रतिकृषक अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्ने नीति लिएको छ, यद्यपि स्थानीय सिफारिसका आधारमा कतिपय कृषकबाट ५५ क्विन्टलसम्म पनि खरिद गरिएको छ। खरिद गरिएको धानको भुक्तानी कृषकको बैंक खातामा सरकारले पठाउने व्यवस्था गरिएको छ ।

यस वर्ष कार्यालयले १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो, तर गोदाम अभावका कारण खरिद कार्य स्थगित गर्नुपरेको जनाएको छ । गुणस्तर परीक्षणपछि मात्र धान खरिद गरिने भएकाले गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिइएको कार्यालयले स्पष्ट पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो