निर्वाचनको दिन आन्तरिक हवाई उडान सुचारु रहने

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १८
|
1.6k views

ललितपुर - ललितपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते हुने मतदानका दिन आन्तरिकतर्फका हवाई उडान सुचारु रहने नागरिक उड्डयन प्राधिकरण ले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल का अनुसार निर्वाचन आयोगले हवाई उडान नरोक्ने गरी आचारसंहिता जारी गरेकाले औपचारिक रूपमा उडान बन्द नहुनेछ ।

यद्यपि, पर्याप्त यात्रु नहुन सक्ने अनुमानका कारण एयरलाइन्स कम्पनीहरू उडान सङ्ख्या कटौती गर्ने तयारीमा छन्। त्यस दिन आन्तरिक उडानको बुकिङ न्यून रहेकाले अति आवश्यक तथा उद्धार उडान भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।

न्यून यात्रुका कारण सञ्चालन खर्च धान्न नसकिएमा एयरलाइन्सहरू उडान सञ्चालन गर्न बाध्य नहुने प्राधिकरणले स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले मतदान हुने दिन बेलुकी ५ बजेसम्म लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको भए पनि हवाई सेवाबारे कुनै प्रतिबन्ध उल्लेख गरेको छैन। हवाई सेवाको नियमन र व्यवस्थापन नागरिक उड्डयन प्राधिकरणले गर्दै आएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडान पनि निर्वाचनका कारण औपचारिक रूपमा बन्द नहुने, तर यात्रु सङ्ख्या तथा अन्य मुलुकको हवाई सुरक्षासम्बन्धी व्यवस्थाका कारण नियमित तालिकामा केही प्रभाव पर्न सक्ने सम्भावना रहेको जानकारी दिइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube