कलुवापुरको रामजानकी मन्दिर जीर्णोद्धारपछि चिटिक्क

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १९
|
1.2k views

ललितपुर - ललितपुर – शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिर (कलुवापुर) मर्मत तथा रङरोगनपछि नयाँ स्वरूपमा देखिएको छ । श्रद्धालुहरूको चन्दा सहयोगबाट जीर्ण अवस्थामा पुगेको मन्दिर पुनः आकर्षक बनाइएको हो ।

पुरानो पर्खाल भत्काएर नयाँ निर्माण गरी स्टिल रेलिङ जडान गरिएको छ भने मुख्य गेटलाई नयाँ डिजाइनमा पुनर्निर्माण गरिएको छ । गेटदेखि मन्दिरसम्मको बाटो ढलान गरी आवागमन सहज बनाइएको रामजानकी धाम तथा पर्यटकीय विकास समितिका अध्यक्ष प्रकाशसिंह ऐरले जानकारी दिए । मन्दिर परिसरमा हरियालीसहित फूलबारी, भक्तजन बस्न चौतारो र अन्य संरचना निर्माण गरिएको छ ।

करिब पाँच दशकअघि स्थानीयले चन्दा सङ्कलन गरी निर्माण गरेको मन्दिर पछिल्ला वर्षमा जीर्ण बनेको थियो । छाना चुहिने, प्लास्टर उप्किने जस्ता समस्या समाधान गर्दै मन्दिरलाई पुरानै स्वरूपमा फर्काइएको जनाइएको छ ।

अध्यक्ष ऐरका अनुसार जीर्णोद्धारका लागि श्रीकृष्ण सामुदायिक वनले पाँच लाख रुपैयाँ सहयोग गरेको छ भने स्वदेश तथा विदेशमा रहेका भक्तजनबाट सङ्कलित दुई लाखभन्दा बढी रकम खर्च गरिएको छ । विवाह शुल्कबापत सङ्कलित ४५ हजार रुपैयाँसमेत पुनर्निर्माणमा प्रयोग गरिएको छ । यसअघि संसदीय विकास कोषमार्फत १० लाख रुपैयाँमा यज्ञशाला र शौचालय निर्माण गरिएको थियो ।

मन्दिर परिसरमा १०८ शिवलिङ्गसहितको चक्रव्यूह, रामजानकीको मुख्य मन्दिर, यज्ञशाला, विवाहमण्डप, गोरखनाथ र शिवपार्वती मन्दिर रहेका छन् । यहाँ विवाह, व्रतबन्ध, पूजापाठ तथा रामनवमीका अवसरमा विशेष कार्यक्रम सञ्चालन हुँदै आएका छन्, जहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

अध्यक्ष ऐरका अनुसार केही सामग्री उधारो खरिद गरिएकाले बाँकी ऋण तिर्न ‘मुठ्ठीदान अभियान’ सुरु गर्ने तयारी छ। उक्त अभियानबाट सङ्कलित रकम विद्युत् वायरिङ तथा अन्य संरचना सुधारमा खर्च गरिने योजना छ ।

मन्दिर पुनर्निर्माणपछि कलुवापुर क्षेत्र धार्मिक, सांस्कृतिक तथा पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । साँझपख झिलिमिली बत्ती र फूलबारीले सजिएको मन्दिर परिसर आन्तरिक पर्यटकका लागि समेत लोभलाग्दो गन्तव्य बनेको स्थानीयवासीको भनाइ छ ।

 पात्रो/राशिफल  रेडियो YouTube