ललितपुर - पाटन (ललितपुर), २३ फागुनः ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी हुनुभएको छ । निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जित हासिल गर्नुभएको हो ।
प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत प्राप्त गर्नुभएको छ । त्यस्तै ६ हजार ५४६ मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गर्नुभएको छ ।
यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो । खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना उम्मेदवार बन्नुभएको थियो ।
कैलाली–१ मा रास्वपाकी ज्ञवाली विजयी
कैलाली क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवाली विजयी हुनुभएको छ ।
उहाँले १७ हजार ८२६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगोरा थारुले आठ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।
रुपन्देही–२ मा रास्वपाका खरेल निर्वाचित
रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी हुनुभएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ५६ हजार ५५० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले नौ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।

बिजनेस पाटी