ललितपुर - ललितपुर – महोत्तरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वलकुमार झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार उहाँले ३२ हजार ४५१ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार ९६९ मत ल्याउनुभयो । स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार ७९० मत, नेपाली कांग्रेसका उम्मेदवार बजरङ्ग नेपालीले चार हजार ३२४ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र–१ र २ मा यसअघि नै क्रमशः रास्वपाकै प्रमोदकुमार महतो र दीपककुमार साह निर्वाचित भइसक्नुभएको छ भने बाँकी रहेको क्षेत्र नं ४ मा पनि रास्वपाकै उम्मेदवार गौरी कुमारी फराकिलो मतान्तरले अगाडि रहनुभएको छ ।
कैलाली–४ मा रास्वपाका कोइराला विजयी
कैलाली ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खेमराज कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
गतबिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाका कोइरालाले २८ हजार ५५६ मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले बताउनुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का लेखराज भट्टले नौ हजार ४४४, नेपाली कम्युनिष्ट पार्टीका हरिराम चौधरीले पाँच हजार ६०९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवारले एक हजार ३५८ मत प्राप्त गर्नुभयो ।
एक लाख १५ हजार १४३ मतदाता रहेको कैलाली–४ मा प्रत्यक्षतर्फ ६१ हजार ९४१ मत खसेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो । त्यसमा सदर मत ५८ हजार २८३ र बदर मत तीन हजार ६५८ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिजनेस पाटी