२०८२ चैत्र २१ | Apr 04, 2026

जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २५
|
816 views

ललितपुर – क्षेत्रीय सुरक्षा चुनौती तीव्र बन्दै गइरहेका बेला जापानले आफ्नो पहिलो स्वदेशी विकसित लामो दूरीको मिसाइल प्रणाली तैनाथ गर्ने तयारी अघि बढाएको छ । सेनाका लन्चरहरू सोमबार राति जापानको दक्षिणपश्चिमी प्रान्त कुमामोटोस्थित क्याम्प केङ्गुनमा ल्याइएपछि अपग्रेड गरिएको टाइप–१२ ल्यान्ड–टु–शिप मिसाइल तैनाथ गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । जापानले बढ्दो क्षेत्रीय तनाव र सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आफ्नो प्रतिरक्षा क्षमता थप सुदृढ बनाउने रणनीतिअनुसार यो कदम चालेको हो ।

मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले अपग्रेड गरिएको टाइप–१२ मिसाइलहरू मार्चको अन्त्यसम्म क्याम्प केङ्गुनमा तैनाथ गरिने जानकारी दिनुभयो । यद्यपि तैनाथीसम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । मिसाइलका लन्चर तथा अन्य सैन्य उपकरण बोकेका गाडीहरू अत्यन्त गोप्य रूपमा मध्यरातमा शिविरमा पुगेका थिए । स्थानीय बासिन्दामध्ये केहीले यस कदमको विरोध जनाउँदै शिविर बाहिर भेला भई ‘लामो दूरीका क्षेप्यास्त्र तैनाथी रोक्नुपर्छ’ भन्ने नारासहित ब्यानर प्रदर्शन गरेका थिए ।

यस कदमप्रति विपक्षी दल तथा स्थानीय प्रशासनले पारदर्शिताको अभाव भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले यस्तो तैनाथीले क्षेत्रीय तनाव थप बढाउन सक्ने र स्थानीय क्षेत्र सम्भावित सैन्य आक्रमणको लक्ष्य बन्न सक्ने चिन्ता व्यक्त गरेका छन् । कुमामोटोका गभर्नर ताकाशी किमुराले प्रान्तीय प्रशासनलाई औपचारिक रूपमा जानकारी नदिइएको गुनासो गर्दै पत्रकारहरूसँग भन्नुभयो, “प्रान्तलाई यसबारे कहिल्यै औपचारिक जानकारी दिइएको थिएन । मिडिया रिपोर्टबाट मात्र थाहा पाउनु अत्यन्त निराशाजनक हो ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया