ललितपुर –यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै एक निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका आठ उम्मेदवारमध्ये पाँच जनाको धरौटी जफत भएको छ ।
निर्वाचन आयोगको कानुनी प्रावधानअनुसार खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । यही व्यवस्थाअनुसार नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाहको पनि धरौटी जफत भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त क्षेत्रमा कुल ८७ हजार ८६१ मतदाता रहेका थिए । तीमध्ये ४५ हजार २४२ मत खसेको थियो। खसेको मतमध्ये ४३ हजार ८९६ मत सदर भएका थिए भने १ हजार ३४६ मत बदर भएका थिए ।
सदर मतको कम्तीमा १० प्रतिशत अर्थात् ४ हजार ३८९ मत ल्याउनुपर्नेमा प्रकाशबहादुर शाहले ३ हजार ४२४ मत मात्रै प्राप्त गरेका कारण उनको धरौटी जफत भएको हो । यसै निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी का हेमराज थापा ले ६ हजार ३५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् भने शाह चौथो स्थानमा रहे ।
शाह २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमाले बाट बाजुरा प्रदेश सभा (ख) बाट निर्वाचित भएका थिए । त्यतिबेला उनले पदम शाही लाई पराजित गर्दै १८ हजार १८६ मत प्राप्त गरेका थिए भने पदम शाहीले १४ हजार ९७७ मत ल्याएका थिए ।
यस निर्वाचनमा शाहसहित पाँच उम्मेदवारको धरौटी जफत भएको छ । जमानत जफत हुने अन्य उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी का केशरबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का भुपेन्द्र ल्वार, प्रगतिशील लोकतान्त्रिक पार्टीका डिककुमार डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही रहेका छन् ।
धरौटी जफत भएका उम्मेदवारमध्ये राप्रपाका केशरबहादुर शाहीले ३५२, माओवादीका भुपेन्द्र ल्वारले २३३, प्रगतिशील लोकतान्त्रिक पार्टीका डिककुमार डिसीले ९७ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया