२०८२ चैत्र २१ | Apr 04, 2026

बालेन नेतृत्वको सम्भावित दुई तिहाइ सरकारको संकेतसँगै सेयर बजारमा पैसाको ओइरोलाग्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २५
|
918 views

ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टीले आमनिर्वाचनमा झण्डै दुई तिहाइ बहुमत ल्याएर सरकार गठन गर्ने सम्भावना बलियो बन्दै जाँदा सेयर बजारमा लगानीकर्ताको उत्साह उल्लेख्य रुपमा बढेको देखिएको छ । चुनावपछि पहिलोपटक सोमबार खुलेको सेयर बजारमा खरिदकर्ताको चाप अत्यधिक भएपछि लगातार तीनपटक सर्किट लागेर कारोबार बन्द भएको थियो ।

बजार खुलेलगत्तै केही सेकेण्डमै सेयर मूल्य तीव्र रुपमा बढ्दा नेप्से सूचक ४ प्रतिशतले उकालो लागेर पहिलोपटक कारोबार रोकिएको थियो । त्यसपछि पुनः खुलेको बजारमा पनि माग अत्यधिक हुँदा कारोबार प्रणालीले दबाब धान्न नसकेपछि फेरि रोक लगाइयो । अन्ततः १२ बजेर १ मिनेटपछि खुलेको बजार केही सेकेण्डमै पुनः बन्द हुँदै दिनभरका लागि कारोबार स्थगित भएको थियो ।

सोमबार २० भन्दा बढी कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतसम्म बढ्दा जम्मा ५५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। तर बजारमा माग धेरै र आपूर्ति कम भएकाले धेरै लगानीकर्ताले चाहेजति सेयर किन्न पाएनन् ।

धेरै लगानीकर्ताले बिहानैदेखि सेयर दलाल कम्पनीका बैंक खातामा अनलाइनमार्फत रकम पठाएर खरिद सिमा (लिमिट) लिएर बसेका थिए। दलाल कम्पनीहरूका अनुसार एकैदिनमा अहिलेसम्मकै धेरै रकम लगानीकर्ताले खातामा जम्मा गरेका छन् ।

एक दलालका अनुसार यसअघि लगानीकर्ताले यति ठूलो रकम एकैदिनमा जम्मा गरेको अनुभव नभएको बताए। साना र मध्यम लगानीकर्तामात्रै नभई ठूला लगानीकर्ताले पनि ठूलो रकम प्रणालीमा पठाएर सेयर किन्न प्रयास गरेको उनले बताए ।

बजारमा अग्रिम रूपमा रकम पठाउने क्रम बढेसँगै सेयर दलाल कम्पनीहरूमा तरलता बढेको छ। यसअघि दैनिक राफसाफ गर्न समेत कठिनाइमा परेका दलाल कम्पनीहरूलाई अहिले भने सहजता भएको बताइएको छ ।

लगानीकर्ताहरूका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्रमा पूँजी बजारलाई प्राथमिकता दिइएको र बालेन शाह नेतृत्वमा स्थिर सरकार बन्ने अपेक्षाले बजारप्रति विश्वास बढेको देखिएको छ। आगामी दिनमा सरकारले पूँजी बजार सुधार र विस्तारका लागि प्रभावकारी कदम चाल्ने अपेक्षा लगानीकर्ताहरूले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया