ललितपुर - ललितपुर – नेकपा एमाले का उपमहासचिव लेखराज भट्टले प्रतिनिधि सभा निर्वाचनको समीक्षा पार्टी कमिटीभित्रै गरिने बताउनुभएको छ । उनले नीति र नेतृत्वसम्बन्धी बहसबारे बाहिर बोल्नुको कुनै औचित्य नरहेको पनि स्पष्ट पार्नुभयो ।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले भने, “नीति र नेतृत्वको विषयमा बहस हुनु स्वाभाविक हो । त्यसलाई पार्टीको आन्तरिक संरचनामार्फत उठाउनुपर्छ। कमिटी प्रणालीमा धारणा राखेर नेतृत्व, नीति, विचार र सिद्धान्तबारे गहिरो समिक्षा हुन्छ ।
उहाँले पार्टीको सचिवालय बैठकमा निर्वाचन परिणामको समीक्षा हुने संकेत गर्दै, सामूहिक छलफलपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी दिनुभयो ।
भट्टले जनताले दिएको जनादेश स्वीकार गर्दै पार्टी नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वीकार गर्नुभयो कि पार्टीले गरेका काम जनतामाझ प्रभावकारी रूपमा लैजान नसकेको र भदौ २३–२४ गते भएका घटनाबारे पर्याप्त रूपमा जनतालाई बुझाउन नसकेको छ। यस विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको पनि उहाँले जोड दिनुभयो ।
पार्टीभित्र देखिएका आन्तरिक विग्रह, संगठन परिचालनमा कमजोरी र अनुशासनहीनताले निर्वाचन परिणाममा असर गरेको भट्टको भनाइ थियो। पार्टीभित्रै विग्रह पैदा भयो । संगठनहरू सही ढंगले परिचालित भएनन् । आन्तरिक पंक्ति अनुशासनमा रहेन, अराजकता बढ्यो, उहाँले भन्नुभयो ।
त्यस्तै, केही गलत रिपोर्टिङका कारण समस्या आएको उल्लेख गर्दै, विद्यालयका शिक्षकहरूले विद्यार्थीलाई चुनावी प्रचार गरेको विषयमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।
कैलाली क्षेत्र नम्बर ४ बाट एमालेका उम्मेदवार रहेका भट्टले विगतमा गरेका विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै, आफूलाई विश्वास गरेर मत दिने मतदाताप्रति आभार व्यक्त गर्नुभयो ।

बिजनेस पाटी