ललितपुर – क्युबामा बढ्दो इन्धन अभावका कारण देश गम्भीर मानवीय संकटतर्फ धकेलिँदै गएको भन्दै संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकका अनुसार इन्धन आयातमा समस्या हुँदा क्युबामा ऊर्जा संकट गहिरिँदै गएको छ, जसले स्वास्थ्य सेवा लगायत आधारभूत सेवाहरूलाई ठूलो असर पुर्याएको छ ।
संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले अस्पतालहरूमा बारम्बार विद्युत कटौती, अत्यावश्यक औषधि अभाव र महत्वपूर्ण चिकित्सकीय उपकरण सञ्चालनमा समस्या देखिएको जनाएको छ । क्यान्सर उपचार, डायलिसिस, आकस्मिक उपचार, शिशु र मातृ स्वास्थ्य सेवा समेत प्रभावित भएका छन् ।
विद्युत र स्रोतको अभावका कारण करिब १६ हजार क्यान्सर बिरामीले रेडियोथेरापी र १२ हजारभन्दा बढी बिरामीले केमोथेरापी सहज रूपमा पाउन नसकेको बताइएको छ । एम्बुलेन्समा इन्धन अभाव हुँदा आकस्मिक उपचारमा ढिलाइ भइरहेको छ ।
त्यसैगरी, झण्डै १० लाख मानिस ट्याङ्करबाट ल्याइने पानीमा निर्भर छन् र अधिकांश पानी पम्प प्रणाली विद्युत्मा आधारित भएकाले सेवा अवरुद्ध भइरहेको छ ।
खाद्य आपूर्ति प्रणाली पनि प्रभावित भएको छ। उत्पादन, भण्डारण र वितरणमा समस्या देखिएकाले देशभर आधारभूत खाद्य वस्तुको उपलब्धता घट्दै गएको छ ।
संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्रहरूसँग सहकार्य गरी क्युबामा मानवीय सहायता पुर्याउने प्रयास गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया