ललितपुर – प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आरामदायी बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ सीट र समानुपातिकतर्फ ५७ सीट जितेको छ । समानुपातिकको थ्रेस होल्ड कटाएका अन्य ५ दलले बाँकी ५३ सीट आपसमा बाँडेका छन् ।
निर्वाचन आयोगले समानुपातिक मतगणना पश्चात सबै दलहरूले प्राप्त गरेको सीट सार्वजनिक गरिसकेको छ । दलहरुले आफ्नो बन्दसूचीभित्रबाट जातीय क्लस्टर मिलाएर उक्त संख्यामा नाम पठाउनुपर्ने हुन्छ । यसो गर्दा संशोधित बन्दसूचीमा रहेको बर्णानुक्रमलाई ‘क्रस’ गर्न मिल्दैन ।
जनसंख्याको अनुपातका आधारमा जातीय क्लस्टर मिलाएर सांसद पठाउनुपर्ने हुनाले त्यसको होमवर्क गर्न निर्वाचन आयोगले दलहरूलाई तीन दिन समय दिएको छ । यसमा दलहरुले ‘खेल्ने’ ठाउँ हुन्छ ।
कानूनी प्रावधानअनुसार दलहरुले महिला तथा पुरुष दुवैतर्फ खस आर्य, आदिवासी–जनजाति, मधेसी, थारु, दलित र मुस्लिम गरी ६ क्लस्टरमा बाँडेर उम्मेदवारहरुको बन्दसूची बुझाएका छन् । उनीहरू यीनै क्लस्टरको जनसंख्या अनुपातअनुसार सांसदहरू छनोट गर्नुपर्ने छ ।
महिला र पुरुष दुवैबाट निर्वाचन आयोगले तोकेको संख्या पुर्याउनुपर्ने हो । यसो गर्दा महिलाको कुल प्रतिनिधित्व भने ३३ प्रतिशतबाट घट्न दिनु हुँदैन । निश्चित क्लस्टरमा महिलातर्फ कम गरेर पुरुषमा बढाउन वा महिलामा बढाएर पुरुषमा घटाउने सुविधा चाहिँ हुन्छ । दलहरूले खेल्ने यही यसैमा हो ।
सबैभन्दा ठूलो दल रास्वपाले ६ वटा जातीय क्लस्टरको जनसंख्या अनुपातअनुसार बाँडफाँट गर्नुपर्ने सीट संख्या यस्तो हुन आउँछः
खस आर्य (३०.२८ प्रतिशत) – १७ जना
आदिवासी जनजाति (२८.७२ प्रतिशत) १६ जना
मधेसी (१६.१५ प्रतिशत)– ९ जना
दलित (१३.४४ प्रतिशत)– ८ जना
थारु (६.५२ प्रतिशत)– ४ जना
मुस्लिम (४.८९ प्रतिशत) ३ जना
कुल (१०० प्रतिशत)– ५७ जना
कांग्रेसले समानुपातिकमा २० सीट जितेको छ । उसको हिसाब यस्तो छः
खस आर्य (३०.२८ प्रतिशत) – ६ जना
आदिवासी जनजाति (२८.७२ प्रतिशत)– ६ जना
मधेसी (१६.१५ प्रतिशत)– ३ जना
दलित (१३.४४ प्रतिशत)– ३ जना
थारु (६.५२ प्रतिशत)– १ जना
मुस्लिम (४.८९ प्रतिशत) १ जना
कुल (१०० प्रतिशत)– ५७ जना
एमालेले समानुपातिकमा १६ सीट जितेको छ । उसको हिसाब यस्तो छः
खस आर्य (३०.२८ प्रतिशत) – ५ जना
आदिवासी जनजाति (२८.७२ प्रतिशत)– ४ जना
मधेसी (१६.१५ प्रतिशत)– ३ जना
दलित (१३.४४ प्रतिशत)– २ जना
थारु (६.५२ प्रतिशत)– १ जना
मुस्लिम (४.८९ प्रतिशत) १ जना
कुल (१०० प्रतिशत)– ५७ जना
९ सीट जितेको नेकपाको हिसाब यस्तो छः
खस आर्य (३०.२८ प्रतिशत) – ३ जना
आदिवासी जनजाति (२८.७२ प्रतिशत)– ३ जना
मधेसी (१६.१५ प्रतिशत)– १ जना
दलित (१३.४४ प्रतिशत)– १ जना
थारु (६.५२ प्रतिशत)– १ जना
श्रम संस्कृति पार्टी र राप्रपाले समान ४-४ सीट जितेका छन् । उनीहरूले सबै क्लस्टरको प्रतिनिधित्व गराउन सक्दैनन् । हिसाब यस्तो हुन्छ-
खस आर्य (३०.२८ प्रतिशत) – १ जना
आदिवासी जनजाति (२८.७२ प्रतिशत)– १ जना
मधेसी (१६.१५ प्रतिशत)– १ जना
दलित (१३.४४ प्रतिशत)– १ जना

फेसबुकबाट तपाईको प्रतिक्रिया