ललितपुर – नेपाल आयल निगमले भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ । शुक्रबार (फागुन २९) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निगमका प्रवक्ता मनोजकुमार ठाकुरले हालसम्म मागअनुसार नै भारतबाट ग्यास आपूर्ति भइरहेको जानकारी दिए ।
उनका अनुसार बजारमा अभाव हुने हल्लाका कारण उपभोक्ताले अनावश्यक रूपमा ग्यास भण्डारण गरेपछि बजारमा अभावजस्तो अवस्था देखिएको हो । प्रवक्ता ठाकुरले अहिले देखिएको कृत्रिम अभावलाई नियन्त्रण गर्न र ग्यास वितरण प्रणालीलाई व्यवस्थित बनाउन आधा सिलिन्डर ग्यास बिक्री सुरु गरिएको बताए ।
उनले नेपालमा ग्यास पर्याप्त रूपमा आपूर्ति भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक सञ्चिति नगर्न आग्रह गरे। साथै हालसम्म मागको शतप्रतिशत आपूर्ति भइरहेको भए पनि आगामी दिनमा के अवस्था हुन्छ भन्नेबारे स्पष्ट नभएको बताए ।
ठाकुरका अनुसार डिजेल र पेट्रोलको मूल्यसूची १५–१५ दिनमा आउने भए पनि हवाई इन्धन र एलपी ग्यासको मूल्यसूची एक महिनामा आउने व्यवस्था छ । नयाँ सूची प्राप्त भएपछि ग्यासको मूल्य बढेको वा नबढेको यकिन हुने र त्यसपछि मात्र मूल्य समायोजन गर्ने वा नगर्ने निर्णय गरिने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया