ललितपुर - ललितपुर – अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) ले व्यापार तथा आर्थिक अनुसन्धान केन्द्र (CBER) सँगको सहकार्यमा “ग्लोबल साउथमा अनुसन्धान र नीतिमा महिलाको भूमिका” विषयक अन्तर्राष्ट्रिय अनलाइन वेबिनार सम्पन्न गरेको छ। १२ मार्च २०२६ मा आयोजित उक्त प्यानल छलफलमा दक्षिण एसिया, युरोप तथा संयुक्त राज्य अमेरिकाका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था र नीतिगत संगठनका विज्ञहरू सहभागी भएका थिए ।
वेबिनारको उद्घाटन सत्र जुन अहमद खानले सञ्चालन गरेका थिए भने डा. एस. अकबर जैदी र डा. लुब्ना नाजले प्रमुख वक्ताका रूपमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका तर्फबाट डा. मंजेश्वरी सिंह र डा. शिखा थापा मगरले विकास अनुसन्धान क्षेत्रमा महिलाको योगदानबारे प्रस्तुति दिएका थिए ।
त्यसैगरी स्ट्यानफोर्ड विश्वविद्यालयका डा. एलिस इभान्स, पर्ड्यू विश्वविद्यालयका डा. अतिनुके अदेबान्जी तथा प्रोफेसर लोरेटा फेवर चिजोमम न्तोइमो लगायत अन्तर्राष्ट्रिय विद्वानहरूले विश्वव्यापी शैक्षिक दृष्टिकोण प्रस्तुत गर्दै अनुसन्धान र नीतिगत क्षेत्रमा महिलाको सहभागिता र नेतृत्वबारे अनुभव साझा गरेका थिए ।
नीतिगत तहका वक्ताहरूमा संघीय राजस्व बोर्डकी सदस्य अम्ब्रीन इफ्तिखार, सीईओ हेलानी गाल्पाया, जलवायु नीति पहलकी मनिका गुप्ता, बंगलादेशको नीति संवाद केन्द्र (CPD) की डा. फहमिदा खातुन, डा. यास्मीन सबीह काजी तथा नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सबनम शिवाकोटी सहभागी थिए ।
कार्यक्रममा IBA–CBER का डा. नौशीन एच. अनवर र डर्बी विश्वविद्यालयकी डा. नाजनिन तबस्सुमले समेत अर्थशास्त्र, शासन, जलवायु वित्त, कृषि, लैङ्गिक समानता तथा सामाजिक नीतिजस्ता विविध विषयमा विचार राख्दै छलफललाई समृद्ध बनाएका थिए ।
प्यानलिस्टहरूले अनुसन्धान तथा नीतिगत क्षेत्रमा कार्यरत महिलाहरू सामाजिक मान्यता र अपेक्षाका कारण ‘दोहोरो दबाब’को सामना गरिरहेका रहेको उल्लेख गर्दै उनीहरूको नेतृत्व क्षमता विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान आदान–प्रदानको आवश्यकता औंल्याए ।
वेबिनारले भविष्यमा सहकार्यलाई थप सुदृढ बनाउन तथा क्षमता विकासका लागि अन्तर्राष्ट्रिय नेटवर्क स्थापना गर्ने प्रस्ताव पनि अघि सारेको छ। आगामी दिनमा कराँची (पाकिस्तान) वा काठमाडौँमा प्रत्यक्ष बैठक आयोजना गरी उक्त सहकार्यलाई थप मजबुत बनाइने आयोजकहरूले जनाएका छन् ।
कार्यक्रमले दीर्घकालीन सहकार्यको प्लेटफर्म निर्माण गर्दै ज्ञान साझेदारीलाई प्रोत्साहन गर्ने र नवीन अनुसन्धान तथा नीतिगत परियोजनाहरूको परीक्षण गर्ने लक्ष्य लिएको आयोजक संस्थाले जनाएको छ।

बिजनेस पाटी