२०८२ चैत्र २२ | Apr 05, 2026

जनमत पार्टी अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २
|
459 views

जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले संसदीय (पदको) राजनीतिबाट टाढा रहने तर संघर्षको राजनीति भने जारी राख्ने बताएका छन् ।

राउतले भने, ‘म संसदीय राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट गायब भएको होइन । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने छु ।’ उनले दुई पटक संसदीय निर्वाचन लडेको स्मरण गर्दै, ‘एक पटक जितें, एक पटक हारें । तर दुबै पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु ।’

उनले २०८२ सालको निर्वाचन नलड्ने निर्णय पहिले नै गर्ने तयारी गरेको तर अन्तिम समयमा पार्टी र कार्यकर्ताको मनोबल कमजोर नपरोस् भनेर उम्मेदवारी दिएको उल्लेख गरेका छन् । राउतले २०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’लाई सरकारले काम गर्न नदिएको र जनतासँग पुग्न रोक लगाएपछि पार्टी गठन गर्नुपर्ने अवस्था आएको पनि बताए ।

राउतले थपे, ‘२०७९ सालको आमनिर्वाचनमा म प्रत्यक्ष वा समानुपातिक निर्वाचन कतैबाट नलड्ने सोचमा थिएँ । तर पार्टीका नेताहरूको आग्रहपछि निर्वाचनमा भाग लिएको निर्णयले पार्टीलाई प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्न सफल बनायो र राष्ट्रिय पार्टीको दर्जा दिलायो ।’

जनमत पार्टी राउत नेतृत्वमा २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनबाट उदाएको दल हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया