२०८२ चैत्र २२ | Apr 05, 2026

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ८
|
510 views

दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड बराबरको काँचो इँटामा क्षति पुगेको छ ।

इँटा व्यवसायीका अनुसार पोल्नका लागि तयारी अवस्थामा राखिएको ठूलो परिमाणको काँचो इँटा वर्षाले नष्ट भएपछि व्यवसायीलाई रु आठ करोड ७५ लाख बराबरको क्षति भएको इँटा उद्योग व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बाँकेको पिबिसी इँटा उद्योगका सञ्चालक दीपक अधिकारीले जानकारी दिनुभयो । उहाँले बेमौसमी वर्षाले एउटा उद्योगमा मात्र करिब पाँच लाख काँचो इँटा नष्ट भएको उल्लेख गर्नुभयो ।

व्यवसायी अधिकारीले जिल्लामा रहेका ७० वटा इँटा उद्योगमा तीन करोड ५० लाख काँचो इँटा नष्ट भएकाले रु आठ करोड ७५ लाख बराबरको क्षति भएको बताउनुभयो । एउटा काँचो इँटाको मूल्य रु २.५० पैसा पर्ने अधिकारीले बताउनुभयो ।

व्यवसायीका अनुसार खुलाचौरमा भर्खरै तयार पारेर सुक्नका लागि राखिएका अधिकांश इँटा पानीले भिजेर माटोमा परिणत भएका छन् । कर्णालीमा हिमपात भएसँगै बाँकेमा भएको वर्षाले यहाँका व्यवसायीले ठूलो क्षति बेहोर्नु परेको बाँकेका व्यवसायीहरुको भनाइ छ ।

इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर केसीले हरेक वर्ष बेमौसमी वर्षाको चपेटामा परेर जिल्लाका उद्योगीले ठूलो क्षति बेहोर्नु परेको बताउनुभयो । उहाँले सरकारले काँचो इँटाको बिमा पनि नगर्ने र क्षतिपूर्ति पनि नदिने हुँदा व्यवसायीलाई ठूलो मर्का परेको उल्लेख गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया