२०८२ चैत्र १५ | Mar 29, 2026

‘नो किङ्स’ अभियानमार्फत ट्रम्पविरुद्ध देशव्यापी विरोध

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १५
|
459 views

पश्चिम एशियामा एक महिनादेखि जारी द्वन्द्व झन् चर्किँदै जाँदा विश्वभर चिन्ता बढेको छ । अमेरिका र इजरायलका कडा आक्रमणबीच इरानले पनि इजरायल र खाडी क्षेत्रका अमेरिकी सैन्य आधारहरूमा शक्तिशाली प्रतिकार गरिरहेको छ । क्षेप्यास्त्र र मानवरहित विमानको आक्रमणबीच यो द्वन्द्व ३०औँ दिनमा प्रवेश गरेको छ भने समग्र क्षेत्रमा तनाव अझै उच्च अवस्थामा रहेको छ ।

यसैबीच अमेरिकाभर शनिवार राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसम्बन्धी युद्ध नीतिको विरोधमा ‘नो किङ्स’ नामक प्रदर्शन भएको छ । उक्त प्रदर्शनमा लाखौँ मानिस सहभागी भएका छन् । प्रदर्शनकारीहरूले सरकारी नीति, बढ्दो महँगी र इरानसँगको युद्धविरुद्ध आवाज उठाएका छन् ।

ठूला सहरदेखि साना सहरसम्म भएका प्रदर्शनमा विभिन्न राजनीतिक धारका नागरिक सहभागी भएका थिए । उनीहरूले नाराबाजी, प्लेकार्ड प्रदर्शन तथा गीत-संगीत र नृत्यमार्फत विरोध जनाएका थिए । न्युयोर्क सहरमा मानिसहरू मिडटाउन म्यानहटनबाट मार्च गर्दै आप्रवासन नीति, ट्रम्प प्रशासन र इरान द्वन्द्वविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । त्यस्तै सान फ्रान्सिस्कोमा पनि मानिसहरू एक स्थानबाट अर्को स्थानतर्फ मार्च गर्दै विभिन्न सामाजिक अभियानका समर्थनमा ब्यानर प्रदर्शन गरेका थिए ।

यसै क्रममा मिनेसोटा राज्यको सेन्ट पल सहरमा ठूलो प्रदर्शन भएको छ । कार्यक्रममा चर्चित गायक ब्रुस स्प्रिङ्स्टिनले प्रस्तुति दिएका थिए । उनले मिनेसोटालाई देशकै लागि प्रेरणादायी स्थान भएको बताए । साथै आप्रवासन कारबाहीका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली पनि अर्पण गरिएको थियो । मिनेसोटाका गभर्नर टिम वाल्जले संघीय आप्रवासन नीतिको कडा आलोचना गर्दै स्थानीय नागरिकको साहस र एकताको प्रशंसा गरेका छन् ।

अमेरिकामा भइरहेको नो किङ्सु प्रदर्शनको यो तेस्रो चरण हो । यसअघि पनि यस्ता ठूला प्रदर्शन भएका थिए, जसमा लाखौँ मानिस सहभागी भएका थिए । महँगी, इन्धन मूल्य वृद्धि र आर्थिक सुस्तता जस्ता कारणले पनि जनआक्रोश बढेको बताइएको छ ।

यद्यपि फ्लोरिडा राज्यको वेस्ट पाम बीच क्षेत्रमा प्रदर्शनकारी र ट्रम्प समर्थकबीच सामान्य भनाभन भएको थियो। तर समग्रमा प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र नागरिकहरूले सरकारको नीति तथा आर्थिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया