२०८२ चैत्र १८ | Apr 01, 2026

पुँजीगत खर्चको गुणात्मक र परिमाणात्मक वृद्धि गर्न निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १७
|
306 views

काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुँजीगत खर्चको मितव्ययी, गुणात्मक र परिमाणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको छ । बजेट तथा कार्यक्रम कार्यान्वयन समीक्षा बैठकमा उहाँले उक्त निर्देशन दिनुभएको हो ।

डङ्गोलले स्वीकृत कार्यक्रम कार्यान्वयनबाट मानिसलाई कति लाभ दियो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको विभागीय प्रमुखसँग भन्नुभयो । ‘कार्यान्वयन भएका कार्यक्रमको अध्ययन विश्लेषण गरेर नतिजा मापन गर्नुहोला’, उहाँले भन्नुभयो, ‘लिखित आन्तरिक समन्वय प्रणाली कार्यान्वयनमा ल्याउनुहोला । यसले जवाफदेहितामा वृद्धि हुनेछ ।’

प्रशासन विभागका प्रमुख महेश काफ्लेले प्रशासनिक खर्च घटाउने दिशामा विभाग केन्द्रित रहेको बताउनुभयो । योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले कार्यक्रमको मात्र नभई नीतिको पनि समीक्षा गर्नु अवस्था रहेको औँल्याउनुभयो ।

कामपाको बजेटको मुख्य भार भएको विभाग सार्वजनिक निर्माण विभाग हो । यस विभागअन्तर्गत रु पाँच अर्ब रु ७७ करोड अर्थात् कामपाको कुल बजेटको २३ प्रतिशत बजेटका १९१ वटा योजना छन् । यीमध्ये अहिलेसम्ममा ४८ वटा योजना सम्पन्न भइसकेका छन् । यी योजनाका लागि रु एक अर्ब ५५ करोड भुक्तानी भइसकेको विभागका प्रमुख सुरेश राईले जानकारी दिनुभयो ।

यो २६.८ प्रतिशत वित्तीय प्रगति हो । उहाँका अनुसार धुलोरहित कार्यक्रमअन्तर्गत पूर्व क्षेत्रमा ७६ प्रतिशत, उत्तर क्षेत्रमा ६८ प्रतिशत, मध्यक्षेत्रमा ६७ प्रतिशत र पश्चिम क्षेत्रमा ३० प्रतिशत वित्तीय प्रगति भएको छ ।

उज्यालो काठमाडौँअन्तर्गत ६२ स्थानमा हाइमास्ट लाइट जडान गरिसकिएको छ । यसको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । वित्तीय प्रगति ५० प्रतिशत छ । आकस्मिक मर्मत कार्य करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

शिक्षा विभागले कार्यान्वयन गर्नुपर्ने ११९ वटा कार्यक्रम छन् । विभागका प्रमुख नमराज ढकालले ८९ वटा नयाँ कार्यक्रम रहेको बताउनुभयो । यसमध्ये १६ वटा सङ्घीय सरकारका सशर्त अनुदानमा सञ्चालित छन् ।

स्वास्थ्य विभागले रु नौ करोड ५४ लाख सङ्घ सरकारको बजेटबाट ३० वटा, रु दुई करोड १९ लाख प्रदेश सरकारको बजेटबाट तीन वटा र रु ८६ करोड २६ लाख ४२ हजार कामपाको आन्तरिक बजेटबाट १५४ वटा गरी १८७ वटा कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया