२०८२ चैत्र १८ | Apr 01, 2026

ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा सङ्क्रमण

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १८
|
204 views

बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा दादुरा सङ्क्रमण फैलिएको थियो ।

फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि पूर्णरुपमा नियन्त्रणमा आउन भने सकेको छैन । विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो ।

खोप लगाएपछि दैनिक सङ्क्रमित हुनेको सङ्ख्या कम भए पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ढोरपाटनसँगै तमानखोला गाउँपालिकाका दुई शङ्कास्पद बिरामी रहेका उहाँको भनाइ छ । हालसम्म १३ जनामा सङ्क्रमण पुष्टि भएको शर्माले जानकारी दिनुभयो । दादुराको लक्षण देखिएका ३३ जनाको नमूना सङ्कलन गरी काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उहाँको भनाइ छ ।

हालसम्म पाँच हजार ९३४ जना १० देखि १९ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो । हालसम्म २०५ शङ्कास्पद बिरामी छन् । हाल चार बिरामी अस्पतालमा उपचाररत छन् । तमानखोलामा शङ्कास्पद बिरामी देखिएपछि पश्चिम बागलुङका चारवटै पालिकामा खोप लगाउने योजना रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया