२०८२ चैत्र १९ | Apr 02, 2026

ज्येष्ठ नागरिकमैत्री नीति माग गर्दै ‘जेरियाट्रिक सोसाइटी’

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १८
|
255 views

जेरियाट्रिक सोसाइटी अफ नेपालले ज्येष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रम कार्यान्वयनको माग गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

आज मन्त्रालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीलाई सोसाइटीका अध्यक्ष डा उमेश बोगटीको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाइएको हो । ध्यानाकर्षण पत्रमा बदलिँदो पारिवारिक संरचना, तीव्र बसाइँसराइ तथा आधारभूत सेवामा सीमित पहुँचका कारण ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र सम्मानजनक जीवनबाट वञ्चित हुने जोखिममा रहेको उल्लेख गरिएको छ ।

हाल नेपालमा ज्येष्ठ नागरिकहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै राष्ट्रिय जनगणना २०७८ अनुसार १०.२१ प्रतिशत (करिब २९ लाख ७७ हजार) जनसङ्ख्या ज्येष्ठ नागरिक रहेको जनाइएको छ । तथ्याङ्कले नेपाल बुढ्यौली समाजतर्फ उन्मुख भइरहेको सङ्केत गरेको सोसाइटीको भनाइ छ ।

सोसाइटीले ज्येष्ठ नागरिकमैत्री सार्वजनिक सेवा तथा पूर्वाधारको अभाव, आवश्यकता अनुसार लक्षित नभएको सामाजिक सुरक्षा प्रणाली, ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारमा वृद्धि, तथा बसाइँसराइका कारण ‘छाडिएका’ ज्येष्ठ नागरिकहरूको समस्या प्रमुख चुनौतीका रूपमा औंँल्याएको छ ।

ध्यानाकर्षण पत्रमार्फत सोसाइटीले आवश्यकतामा आधारित सामाजिक सुरक्षा भत्ता प्रणाली लागू गर्न, अन्तरमन्त्रालय समन्वयका लागि अधिकार सम्पन्न समिति गठन गर्न तथा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारलाई लैङ्िगक समानता तथा सामाजिक समावेशीकरण नीतिमा समावेश गर्न सरकारसँग माग गरेको छ ।

ज्येष्ठ नागरिकमैत्री नेपाल निर्माणका लागि बहु–क्षेत्रीय समन्वय र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै सोसाइटीले सरकारबाट ठोस् नीतिगत पहलको अपेक्षा गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया