ललितपुर - नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको नीति परिवर्तन गर्न आग्रह गरेको छ ।
महासङ्घले आज विज्ञप्ति जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई समेत जारी गरिएको सोसम्बन्धी परिपत्र तत्काल फिर्ता गर्नसमेत सरकारसँग आग्रह गरेको छ ।
महासङ्घले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनालाई भेटी निर्णय खारेज गर्न यस विषयमा ध्यानाकर्षण गराइएको पनि जनाएको छ । महासङ्घले बुधबार त्यसबारे महासङ्घका पूर्वअध्यक्ष, बिहीबार राष्ट्रिय दैनिक, साप्ताहिक, अनलाइनका सम्पादक र शुक्रबार राजनीतिक दलका संसदीय दलका नेतासँग छलफल गर्नेसमेत जनाएको छ ।
यसैगरी श्रमजीवी पत्रकारलाई नियमित पारिश्रमिक र सेवा–सुविधा उपलब्ध गराउन सञ्चार गृहहरूसँग समेत महासङ्घले आग्रह गरेको छ ।

बिजनेस पाटी















