ललितपुर - एक महिनाभन्दा बढी समयदेखि चलेको भीषण द्वन्द्वपछि अन्तिम घडीमा अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । तर गोलीबारी रोकिए पनि दुवै पक्षले आफूलाई विजेता घोषणा गरेकाले तनावको मूल कारण अझै समाधानतर्फ नपुगेको सङ्केत देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तय गरेको समयसीमा सकिन एक घण्टा बाँकी रहँदा सहमति जुटेको हो । त्यसपछि दुवै देशले युद्धविरामलाई आ–आफ्नो जीतका रूपमा प्रस्तुत गरेका छन् । ट्रम्पले यसलाई अमेरिकाका लागि ‘पूर्णतः निर्णायक विजय’ भएको बताउनुभएको छ भने इरानले पनि आफूले ‘ऐतिहासिक र निर्णायक जीत’ हासिल गरेको दाबी गरेको छ ।
इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिमा इरानी राष्ट्रविरुद्ध गरिएको युद्धलाई ‘अवैध र आपराधिक’ भन्दै शत्रुले लज्जास्पद पराजय बेहोरेको उल्लेख गरिएको छ । त्यस्तै, इरानले यस विरामलाई स्थायी समाधानतर्फको पहिलो कदमका रूपमा लिँदै अमेरिकासँग वार्ता अघि बढाउने जनाएको छ । वार्ता पाकिस्तानमा शुक्रबारदेखि सुरु हुने तय गरिएको छ ।
यसबीच, ह्वाइट हाउसले इजरायल पनि युद्धविराममा सहमत भएको जनाएको छ । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्पष्ट पार्दै यो सहमति लेबनानमा लागू नहुने बताउनुभएको छ । लेबनानमा इरान समर्थित हिजबुल्लाहसँगको द्वन्द्वमा हालसम्म एक हजार ५०० भन्दा बढी मानिसको ज्यान गइसकेको जनाइएको छ ।
इजरायलले सुरुबाटै अमेरिकालाई इरानविरुद्धको युद्धमा प्रत्यक्ष संलग्न हुन आग्रह गर्दै आएको थियो । फेब्रुअरीमा सुरु भएको प्रारम्भिक आक्रमणका क्रममा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनी मारिएको दाबीसमेत गरिएको छ, जसले द्वन्द्वलाई थप चर्काएको थियो ।
ट्रम्पले युद्धविरामको निर्णय लिनुअघि पाकिस्तानी नेतृत्वसँग परामर्श गरेको बताउनुभएको छ । उहाँका अनुसार पाकिस्तानले इरानमाथि ‘विनाशकारी सैन्य कारबाही रोक्न’ आग्रह गरेको थियो । उहाँले चीनले पनि इरानलाई वार्तामा ल्याउन भूमिका खेलेको विश्वास व्यक्त गर्नुभयो ।
युद्धविरामको मुख्य शर्तका रूपमा इरानले विश्वको महत्त्वपूर्ण तेल मार्ग होर्मुज जलडमरूमध्य दुई हप्ताका लागि सुरक्षित रूपमा खोल्ने सहमति जनाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको युद्धका क्रममा बन्द गरिएको यस मार्गबाट विश्वको झण्डै पाँचौँ भाग तेल आपूर्ति हुने भएकाले यसको खुला हुनु विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले आक्रमण रोकिए इरानले पनि आफ्नो रक्षात्मक कारबाही रोक्ने बताउनुभयो । यसबीच, युद्धविराम घोषणा भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य १७ प्रतिशतभन्दा बढीले घटेको छ भने एसियाली सेयर बजारमा सुधार देखिएको छ ।
यद्यपि दीर्घकालीन समाधानका विषयमा अझै मतभेद कायम छन् । इरानले अमेरिकी प्रतिबन्ध हटाउने, होर्मुजमा आफ्नो प्रभुत्व स्वीकार गर्नुपर्ने र क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने माग अघि सारेको छ । साथै, आफ्नो युरेनियम संवर्धन कार्यक्रमलाई मान्यता दिनुपर्ने अडान पनि दोहोर्याएको छ ।
ट्रम्पले भने कुनै पनि अन्तिम सम्झौतामा इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नियन्त्रणमा ल्याइनुपर्ने बताउनुभएको छ । इरान आणविक हतियार नजिक पुगेको उहाँको दाबीलाई अन्तर्राष्ट्रिय निकायहरूले भने समर्थन गरेका छैनन् ।
यदि वार्ता असफल भयो भने के पुनः आक्रमणमा फर्किने भन्ने प्रश्नमा ट्रम्पले स्पष्ट जवाफ दिनुभएन, तर आवश्यक परे कठोर कदम चाल्न सकिने सङ्केत दिनुभयो ।
युद्धविरामअघि दुवै पक्षले व्यापक आक्रमण गरेका थिए । अमेरिका र इजरायलले इरानका पुल, रेलमार्ग र सैन्य पूर्वाधारमा प्रहार गरेका थिए भने इरानले खाडी क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गरी प्रतिकार गरेको थियो । यी आक्रमणहरूले क्षेत्रीय सुरक्षा अवस्थालाई गम्भीर रूपमा प्रभावित पारेको छ ।
कतार, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा विस्फोटका आवाज सुनिएको र केही स्थानमा घाइते भएको रिपोर्ट आएको छ । बगदादमा क्षेप्यास्त्र आक्रमणमा एक बालकसहित दुई सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।
युद्धको त्रास आम नागरिकमा गहिरो देखिएको छ । तेहरानकी एक विद्यार्थीले आफू र अन्य नागरिकहरू अत्यन्त डरमा बाँचिरहेको बताएकी छन् । यसबीच, इरानमा ऊर्जा संरचनाको सुरक्षाका लागि नागरिकहरूले मानव साङ्लो बनाएको दृश्य सार्वजनिक भएको छ ।
दुई हप्ताको यो अस्थायी विरामले तत्कालका लागि राहत दिएको भए पनि गहिरो राजनीतिक, सैन्य र आणविक विवाद समाधान नभएसम्म स्थायी शान्ति अझै टाढा रहेको विश्लेषण गरिएको छ ।

बिजनेस पाटी













