नेप्से १३ अंकले घट्यो, उत्पादन समूहले बनायो नयाँ रेकर्ड

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २७
|
408 views

ललितपुर - शुक्रबार सेयर बजार १३.४६ अंक घटेको छ । आइतबार सार्वजनिक बिदा हुने भएसँगै शुक्रबार सेयर कारोबार हुन थालेको छ । शुक्रबारको कारोबारपछि नेप्से परिसूचक २८३७ अंकमा कायम भएको छ ।

कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९९ करोडको भयो ।

५६ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने तीनको स्थिर रह्यो । समग्र बजार घट्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५९ प्रतिशत (१८२ अंक) बढेको छ । यो समूहको सूचक हालसम्मकै उच्च ११ हजार ६४२ अंकमा पुगेको छ । यो समूहमा केही नयाँ कम्पनी थपिएर लगातार मूल्य बढ्दा सूचकले नयाँ रेकर्ड बनाएको हो ।

आज उत्पादनबाहेक हाइड्रोपावर समूह ०.०८ प्रतिशत बढ्यो । अरु सबै समूहका सूचक घटेका छन् । बैंकिङ ०.७४, विकास बैंक ०.६७, फाइनान्स ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी १.१२, जीवन बीमा ०.७१, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.४८, अन्य १.३९ तथा व्यापार १.०६ प्रतिशत घटे ।

७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, शिखर पावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक छन् । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.३६, हिमालयन हाइड्रोपावरको ८.४८ प्रतिशत मूल्य बढ्यो ।

माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.०४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स्, रिडी पावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनी छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube