ललितपुर - मध्यपूर्वमा जारी युद्ध र कूटनीतिक तनावबीच पछिल्ला घटनाक्रमहरूले स्थिति अझ जटिल र संवेदनशील बनेको छ । अमेरिका–इरान युद्धविराम, लेबनानको सङ्कट, इजरायल–हिजबुल्लाह तनाव र ऊर्जा आपूर्तिमा देखिएको असरले क्षेत्रीय अस्थिरता थप गहिरिएको देखिन्छ ।
अमेरिका–इरानबीच पाकिस्तानमा भइरहेको शान्ति वार्तामा सहभागी हुन अमेरिकी उपराष्ट्रपति जेडी भान्स वासिङ्टनबाट प्रस्थान गर्नुभएको छ । दुवै पक्षले दुई हप्ते युद्धविरामका सर्त उल्लङ्घन गरेको आरोप लगाइरहेका बेला उहाँको भ्रमणलाई निर्णायक प्रयासका रूपमा हेरिएको छ ।
उपराष्ट्रपति भान्सले वार्ताअघि प्रतिक्रिया दिँदै सकारात्मक संवादको प्रयास गर्ने बताउनुभएको छ । उहाँका अनुसार इरानले इमानदारीपूर्वक वार्ता गर्न चाहेमा अमेरिका खुला मनले अघि बढ्न तयार छ, तर छलफललाई कमजोर बनाउने प्रयास भएमा अमेरिकी टोली कडा रहनेछ ।
यसैबीच लेबनानमा इरान समर्थित समूह हिजबुल्लाहका नेता नइम कासिमले सरकारलाई इजरायलसँग कुनै पनि प्रकारको सहुलियत दिन रोक्न चेतावनी दिनुभएको छ । उहाँले हालै इजरायलले लेबनानमा गरेको आक्रमणमा ३०० भन्दा बढीको ज्यान गएको भन्दै त्यसको कडा निन्दा गर्नुभएको छ । उहाँको भनाइमा लेबनानी सरकारले ‘निःशुल्क छुट’ दिनु स्वीकार्य हुने छैन ।
लेबनानको मानवीय अवस्था पनि तीव्र रूपमा बिग्रँदै गएको छ । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले देशको सम्पूर्ण खाद्य प्रणाली सङ्कटमा परेको चेतावनी दिएको छ । लगातारको द्वन्द्वका कारण मूल्यवृद्धि, आपूर्ति अवरोध र विस्थापन बढ्दै गएको र यो अवस्था अब खाद्य सुरक्षाको गम्भीर सङ्कटमा परिणत भइरहेको जनाएको छ ।
क्षेत्रीय सैन्य तनाव पनि बढ्दो क्रममा छ । हिजबुल्लाहले बेरुतमा भएको इजरायली आक्रमणको जवाफमा इजरायलको अशदोद नौसेना अड्डामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ । समूहका अनुसार यो कदम युद्धविराम उल्लङ्घनको प्रतिकारस्वरूप गरिएको हो ।
यता युरोपेली र अरब देशहरूले इजरायललाई बेरुतमा नयाँ हवाई आक्रमण रोक्न कूटनीतिक दबाब दिइरहेको एक पश्चिमी कूटनीतिज्ञले बताएका छन् । खाडी मुलुकहरू र इजिप्ट पनि यस प्रयासमा सहभागी रहेको जनाइएको छ ।
मानवीय सङ्कटसँगै सहायता प्रयासहरू पनि अघि बढिरहेका छन् । रेड क्रस र टर्की रेड क्रिसेन्टले इरानतर्फ सहायता गाडी पठाएको छ । अन्तर्राष्ट्रिय रेड क्रस महासङ्घ (आइएफआरसी) ले इरानमा मानवीय आवश्यकताहरू अत्यन्त उच्च रहेको जनाएको छ ।
ऊर्जा क्षेत्रमा पनि प्रभाव देखिन थालेको छ । फ्रान्सेली ऊर्जा कम्पनी टोटल एनर्जीले साउदी अरेबियाको पूर्वी खाडी तटस्थित प्रमुख रिफाइनरी बन्द गरेको घोषणा गरेको छ । युद्धका क्रममा भएको क्षतिपछि बन्द गरिएको यो रिफाइनरी अरामकोसँगको संयुक्त परियोजना हो । साउदी ऊर्जा मन्त्रालयले आफ्ना तेल तथा ग्यास संरचनामा पछिल्ला दिनहरूमा धेरै आक्रमण भएको जानकारी दिएको छ ।
इजरायलमा पनि तनावपूर्ण अवस्था कायम छ । लेबनानबाट रकेट प्रहार भएपछि तेल अभिव र अशदोदसहित विभिन्न क्षेत्रमा हवाई आक्रमणको चेतावनी दिइएको छ । यद्यपि इजरायली हवाई रक्षा प्रणालीले केही रकेटहरू निष्क्रिय पारेको बताइएको छ र तत्काल ठूलो क्षतिको विवरण आएको छैन ।
इरानका सर्वोच्च नेता मोजताबा खमेनीले जारी गरेको सन्देशमा इरानले युद्ध नचाहे पनि आफ्नो अधिकार रक्षामा पछि नहट्ने बताउनुभएको छ । उहाँले क्षेत्रीय प्रतिरोध मोर्चालाई एकीकृत रूपमा हेर्ने उल्लेख गर्दै लेबनानको अवस्थाप्रति अप्रत्यक्ष सङ्केत गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि होर्मुज जलडमरूमध्यबाट तेल प्रवाहमा अवरोध सिर्जना गरेको आरोप लगाउँदै यो कार्य युद्धविराम सम्झौताको उल्लङ्घन भएको टिप्पणी गर्नुभएको छ । उहाँले इरानको व्यवहारलाई अस्वीकार्य भन्दै कडा शब्दमा आलोचना गर्नुभएको छ ।

बिजनेस पाटी













