खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ३०
|
408 views

ललितपुर - अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ । वार्ता असफल भएसँगै अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेपछि क्षेत्रीय युद्ध थप चर्किने सङ्केत देखिएको छ, जसले विश्वव्यापी अर्थतन्त्र र ऊर्जा आपूर्तिमा गम्भीर असर पार्ने चिन्ता बढाएको छ ।

पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीन बनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम त्याग्न अस्वीकार गरेको आरोप लगाउनुभयो । उहाँका उपराष्ट्रपति जेडी भान्स वार्ताबाट बाहिरिएपछि ट्रम्पले रणनीतिक महत्त्वको होर्मुज जलडमरूमध्यसँग सम्बन्धित कडा कदम चाल्ने सङ्केत दिनुभएको थियो ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार सोमबार १४०० जिएमटीदेखि अरबको खाडी र ओमानको खाडी क्षेत्रका सबै इरानी बन्दरगाहहरूमा प्रवेश वा प्रस्थान गर्ने जहाजमाथि नाकाबन्दी लागू गरिनेछ । यद्यपि गैर–इरानी बन्दरगाहतर्फ जाने जहाजहरूको आवागमनमा अवरोध नपारिने स्पष्ट पारिएको छ । ट्रम्पले आफ्नै सामाजिक सञ्जालमार्फत यो निर्णय पुष्टि गर्दै प्रारम्भिक भनाइभन्दा सीमित तर रणनीतिक रूपमा महत्त्वपूर्ण कदम भएको सङ्केत गर्नुभएको छ ।

यसअघि ट्रम्पले जलडमरूमध्य पूर्ण रूपमा नियन्त्रणमा लिने कडा चेतावनी दिनुभएको थियो । “संयुक्त राज्य अमेरिकाको नौसेनाले होर्मुज हुँदै जाने सबै जहाजहरू रोक्ने प्रक्रिया सुरु गर्नेछ”, उहाँले लेख्नुभएको थियो। साथै उहाँले कुनै पनि आक्रमणको कडा जवाफ दिइने चेतावनीसमेत दिनुभएको थियो ।

इरानले भने यस्तो कदमलाई चुनौती दिएको छ । रिभोलुसनरी गार्ड्सले होर्मुज क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै अमेरिकी कदमलाई प्रतिकार गरिने चेतावनी दिएको छ । इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले आफ्नो देश कुनै दबाबमा नझुक्ने बताउनुभएको छ भने नौसेना प्रमुख सहराम इरानीले अमेरिकी घोषणालाई ‘हास्यास्पद’ टिप्पणी गर्नुभएको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले वार्ता असफल हुनुमा अमेरिकी ‘अधिकतम दबाब’ नीति र अन्तिम समयमा अडान परिवर्तन जिम्मेवार रहेको बताउनुभएको छ । उहाँका अनुसार सम्झौता ‘इन्चको दूरीमा’ पुगेको थियो तर नाकाबन्दीको घोषणा भएपछि सम्भावना समाप्त भएको छ ।

यो घटनाक्रमले फेब्रुअरी अन्त्यदेखि जारी युद्धलाई थप जटिल बनाएको छ । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वमा हजारौँको ज्यान गइसकेको छ भने विश्व अर्थतन्त्रसमेत प्रभावित भएको छ । पाकिस्तानले मध्यस्थताको प्रयास जारी राख्दै दुवै पक्षलाई युद्धविराम कायम राख्न आह्वान गरेको छ, तर समुद्री नाकाबन्दीले त्यो प्रयास कमजोर बनाउने विश्लेषण गरिएको छ ।

यसबीच, तेल बजारमा तत्काल प्रभाव देखिएको छ । गत साता घटेको मूल्य सोमबार पुनः बढ्दै डब्लुटीआई र ब्रेन्ट दुवैको मूल्य प्रति ब्यारेल १०० डलर आसपास पुगेको छ । खाडी क्षेत्रमार्फत विश्वको ठूलो भाग तेल आपूर्ति हुने भएकाले यस्तो अवरोधले दीर्घकालीन असर पार्ने अनुमान गरिएको छ ।

विशेषगरी मित्र राष्ट्रतर्फ जाने ढुवानीलाई प्राथमिकता दिँदै तेहरानले पहिले नै केही जहाजहरूको आवागमनमा नियन्त्रण राख्दै आएको छ । यसले होर्मुज जलडमरूमध्यलाई युद्धको केन्द्रविन्दु बनाएको छ । विश्लेषकहरूले अमेरिकी नाकाबन्दीलाई केवल दबाबको सङ्केत नभई युद्धको पुनः तीव्रता बढाउने कदमका रूपमा व्याख्या गरेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube