ललितपुर - ललितपुर महानगरपालिका वडा नं. २८ मा वडा अध्यक्ष बिरेन्द्र महर्जनको नेतृत्वमा विकास निर्माणसँगै सामाजिक सेवामूलक कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढिरहेका छन् । वडावासीको आवश्यकता र जनजीवनसँग प्रत्यक्ष सम्बन्धित रहेको कार्यक्रमलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा उल्लेखनीय कामहरू सञ्चालन हुँदै आएका छन् ।
अध्यक्ष महर्जनले जिम्मेवारी सम्हालेपछि वडाभित्र सडक स्तरोन्नति, ढल तथा खानेपानी व्यवस्थापन, सार्वजनिक स्थल संरक्षण, सरसफाइ अभियान तथा अन्य पूर्वाधार विकासका कामहरू तीव्र गतिमा अघि बढाइएको छ । वडामा विभिन्न स्थानमा पार्क निर्माण गरी हाईमास्क लाइट जडानसहित सार्वजनिक स्थलहरूको व्यवस्थापन गरिएको छ, जसले स्थानीयलाई सहज वातावरण उपलब्ध गराएको छ ।
स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेषगरी वडामा स्थायी बसोबास गर्ने ६० बर्ष उमेर भन्दा माथिका ज्येष्ठ नागरिकहरूका लागि मधुमेह (सुगर) र उच्च रक्तचापका बिरामीलाई घरदैलोमै पुगेर परीक्षण गर्ने तथा आवश्यक औषधि निःशुल्क वितरण गर्ने कार्यक्रम सञ्चालन गरिएको छ ।
त्यसैगरी विल भौचरको आधारमा हस्पितलमा भर्ना भई रगत चढाएको विलको वडा वाट भुक्तानि, स्थानीय नागरिकलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न अल्का अस्पताल, मेडिसिटी अस्पताल र बी एन्ड बी अस्पतालमा छुटसहितको डिस्काउन्ट कार्ड वितरण गरिएको छ भने हरिसिद्धि क्यान्सर अस्पतालमा नागरिकताको आधारमा सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको वडा अध्यक्ष महर्जनले बताउनुभयको छ ।
सामाजिक सेवाअन्तर्गत कोड एरिया क्षेत्रमा निःशुल्क फोहरमैला व्यवस्थापन, जेष्ठ नागरिकहरूका लागि दैनिक दिवा सेवा कार्यक्रम, योग तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन् । शिक्षा क्षेत्रमा पनि वडा सक्रिय देखिएको छ । प्रत्येक वर्ष वार्षिक शैक्षिक सम्मान कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने, निःशुल्क कापी वितरण गर्ने तथा निरन्तर शिक्षा कार्यक्रम सञ्चालन गर्ने कार्य भइरहेको छ । साथै विभिन्न ऐतिहासिक दस्तावेज तथा पुस्तक प्रकाशन गरेर स्थानीय इतिहास संरक्षणमा पनि पहल गरिएको छ ।
महिला सशक्तीकरणका लागि महिला समूहहरूलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्ने तथा आवश्यक सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । युवाहरूलाई खेलकुद तथा सामाजिक गतिविधिमा प्रोत्साहन गर्न विभिन्न खेलकुद प्रतियोगिता र सामुदायिक कार्यक्रमहरू आयोजना गरिँदै आएको छ । यसका साथै पर्व–संस्कृति व्यवस्थापनका लागि पनि उच्चस्तरीय समन्वय र व्यवस्थापन गर्दै वडामा सांस्कृतिक गतिविधिलाई संरक्षण र प्रवर्द्धन गर्ने प्रयास भइरहेको छ ।
वडावासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या र आवश्यकताअनुसार योजना निर्माण तथा कार्यान्वयनमा जोड दिँदै अध्यक्ष महर्जन जनताको सेवामा समर्पित नेतृत्वका रूपमा चिनिनुभएको छ । विकास निर्माणसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समान प्राथमिकता दिँदै वडा नं. २८ लाई व्यवस्थित, स्वच्छ र नमुना वडा बनाउने लक्ष्यका साथ उहाँ सक्रिय रहनुभएको छ ।

बिजनेस पाटी









