ललितपुर - नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI)ले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन नगर्न सरकारलाई आग्रह गरेको छ ।
सरकारले बन्द उद्योगहरूलाई PPP मोडेलमार्फत सञ्चालन गर्ने तयारी गरिरहेका बेला जचुकाली पनि सूचीमा परेको सूचनापछि प्रतिष्ठानले चिन्ता व्यक्त गरेको हो ।
एनडिआरआईका अनुसार चुरोट उद्योग सञ्चालनले जनस्वास्थ्यमा गम्भीर असर पार्नेछ। नेपालमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष करिब ३९ हजार २०० जनाको मृत्यु हुने तथ्यांक प्रस्तुत गरिएको छ ।
यस्ता रोगको उपचारमा राज्यले वार्षिक करिब ४५ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने भए पनि सुर्तीजन्य पदार्थबाट करिब ३५ अर्ब रुपैयाँ मात्रै राजस्व उठ्ने उल्लेख गरिएको छ ।
यस आधारमा स्वास्थ्यमा पर्ने आर्थिक भारसमेत धान्न नसक्ने हुँदा उद्योग पुनः सञ्चालन अविवेकी निर्णय हुने एनडिआरआईको ठहर छ ।
प्रतिष्ठानले नेपालमा सुर्तीजन्य पदार्थमा करदर ४० प्रतिशतभन्दा कम रहेको र विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार कम्तीमा ७५ प्रतिशत हुनुपर्ने जनाएको छ ।
त्यसैगरी, सुर्ती उद्योगमा कडाइका साथ नियमन, कर वृद्धि र नियन्त्रण ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।
एनडिआरआईले धूम्रपान प्रवर्द्धन गर्ने उद्योगलाई प्राथमिकता दिनु दीर्घकालीन रूपमा हानिकारक हुने भन्दै जडिबुटी, वन पैदावर तथा निर्यातमुखी उद्योगलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ ।


बिजनेस पाटी








