
ललितपुर -
एन आई सी एशिया बैंक लिमिटेड ले आफ्नो स्वामित्वमा रहेका तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार उक्त पोर्टलमार्फत बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितोमा राखिएका सम्पत्तिहरूको विस्तृत विवरण एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ। लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान पहिचानसमेत पोर्टलमा समावेश गरिएको छ।
ग्राहकहरूले लिलामसम्बन्धी प्रकाशित सूचनामा रहेको क्यूआर कोड स्क्यान गरेर पोर्टलमा प्रवेश गर्न सक्नेछन्। साथै, आफूलाई रुचि भएको सम्पत्तिबारे थप जानकारी लिन पोर्टलमै उपलब्ध म्यासेज बक्समार्फत नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी सिधै बैंकसँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
बैंकले यस पोर्टलमा नियमित रूपमा नयाँ लिलाम सूचना तथा सम्पत्ति विवरण अद्यावधिक गरिने जनाएको छ। यसबाट लिलाम प्रक्रियालाई पारदर्शी, व्यवस्थित र पहुँचयोग्य बनाउने लक्ष्य राखिएको बैंकको भनाइ छ।
लिलाममा रुचि राख्ने व्यक्तिहरूले उक्त पोर्टलमार्फत आवश्यक जानकारी प्राप्त गरी लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ।

बिजनेस पाटी